यो मेचबाट हेर्दा-
नागरिकहरू छोटा-छोटा देखिन्छन्
उनीहरूको बुद्धि सानो देखिन्छ
हात पाखुरा मसिनो देखिन्छ
मान्छे-कमिला उस्तै देखिन्छन् ।

अग्लो मान्छेले देख्छ
आफूलाई मात्र जताततै
आकाशमा - दरबारमा
हावामा, पानीमा, हिमालमा
गाउँ-गाउँमा, टोल-टोलमा
बिजुलीका तारमा, पोलमा ।

अग्लिदै गएपछि दुख्नेछ उसको अग्लो ढाड
थामी नसक्नु हुनेछ लामो न लामो गर्धन
फोहोरी देखिनेछ कालो- नयाँ जुँगा
अनि फोहोर भित्ता भन्ठानेर 
उसको जीउभरी परेड खेल्नेछन्
कमिला बनेका नागरिकहरू 
जताततै टोक्नेछन्, जथाभावी चिल्नेछन्
अनि मेचबाट ढल्नेछ अग्लो मान्छे
र झर्नेछ धुलाम्मे धरातलमा ।

घुम्ने मेचमाथिको अग्लो मान्छेले
संविधान पन्छाएर पढेकै हो 
ठेलीका ठेली उखानशास्त्र
कहीँ न कहीँ त लेखिएकै होला-
'सबैभन्दा अग्लो बाँस, सबैभन्दा पहिला काटिन्छ ।'

साभार: शिलापत्र, २०७७ चैत्र ९ (https://shilapatra.com/detail/53903)

0 comments (Click here to Comment):

Post a Comment