पर्दा


हलुका पर्दा नयाँ दुलहिजस्तै हुन्छ
शान्त पनि, चञ्चल पनि
निकैबेरसम्म चुपचाप रहन्छ पर्दा
तर सानो हावाले पनि
हल्लाइदिन्छ यसलाई ।

पर्दा हल्लीएपछि
मुस्कुराउछ झ्याल
काउकुती लाग्छ
झ्यालका सीसाहरुमा ।

त्यहि सीसाको पारदर्शी बाटो हुदै
आकाशको चेहरा देखिन्छ
सडकको थकान देखिन्छ
प्रकृतिका केही रङहरु देखिन्छन् ।

पर्दा बाहिरको संसार
अब कसैलाइ प्यारो लाग्दैन
अब त कोठा नै हो संसार
मोनिटरमा लहरै बस्छन् सबै महादेशहरु
फ्रेममा सजिन्छन् सुन्दर फूलका तस्विर
बाँसना दिन छदैछन् अनेकथरी अत्तर ।

तर झ्याल सत्य हो
झ्यालका पारदर्शी सीसा पनि सत्य हुन्
अझ त्यो भन्दा ठूलो सत्य हो
झ्यालमा टाँगिएको हलुका पर्दा
जसलाइ सानो हावाले पनि हल्लाइदिन्छ ।
(१६–१२–०७०)

0 comments (Click here to Comment):

Post a Comment