पागल घोडा

Source: http://blogbishad.blogspot.com 
सडकको बिचोबिच दौडिन तम्तयार छ
इतिहासले घोषणा गरेको
एउटा पागल घोडा
जसले भत्काउनेछ
सडकका सबै पुरातन सुत्रहरु ।

जब काट्नेछ घोडाले बाग्मती संघार
गेरुमा सजिएकाहरु
चाट्न थाल्नेछन्
घोडाको अछुत खुर
र टाँग्नेछन् 
'प्रवेश खुला'को साइनबोर्ड ।

जब गर्जिनेछ घोडा
रिङ्गरोडको कफ्र्युग्रस्त सडकमा
दौरासुरुवालमा सजिएकाहरुले निकाल्नेछन्
सुरुवालबाट ईजार 
र आफै झुण्डाउनेछन्
पुरुष सत्ताको आफ्नै नपुंसक गर्धन ।

जब घोडाको टापले टेक्नेछ
दरबारमार्गको सम्भ्रान्त छाती
आराम फर्माइरहेकाहरु
बुझ्न थाल्नेछन्
किन बदलिदैछ
सिँगो कर्णाली  मसानघाटमा 
र सिँगो मसानघाट कर्णालीमा  ?

जब उफ्रिनेछ घोडा
टुँडिखेलको रक्ताम्मे मैदानमा
काठका बर्दिवालहरुले
छातीमा मुड्की बजारेर वाक्नेछन्
विदेशी नुनको वान्ता
र सिलाउनेछन्
राष्ट्रिय झण्डावाल पोसाक ।

जब टुटाउनेछ पागल घोडाले
िसंहदरबारको अग्लो गेट
गल्र्यामगुर्लुम ढल्नेछ
खुनी बडामहाराजको ढल्न बाकि शालीक
र च्यातिनेछ शालीकको नाक र कान
अनि टुक्रिनेछ एकात्मक गिदीको गन्हाउने टाउको ।

त्यो बेला
पागल घोडा सद्दे हुनेछ 
र सद्देहरु पागल हुनेछन् ।
(१६-०६-०६७)

0 comments (Click here to Comment):

Post a Comment