पुजीवाद

Source: http://blogbishad.blogspot.com 
जोताहाहरुले दरबारको लामो जुँगा उखेले
र कारखानाको बाइरहेको मुखमा लगेर रोपे
त्यसपछि हो उनीहरु पार्टपुर्जामा फेरिएको ।

हिलो फेरिएर पेट्रोल, डिजल बन्यो
हलो फेरिएर ठूल-ठूला मेसिन बने
अन्नका हरिया फाँटहरु खुला बजार बने
तैपनि आसुको तापक्रम चाहि फेरिएन
तैपनि आँखाको धमिलोपन चाहि फेरिएन ।

बरु फेरिएर बन्यो-
विकासको नयाँ भद्दा परिभाषा
र छाँडियो-
खुला अर्थतन्त्रको गोमन ।

रमाउ, मूर्ख मान्छेहरु रमाउ
'फ्रि मार्केट' मा भोक 'फ्रि' बनाइएको छ
तिम्रो गरिबीले प्रोमोसन पाएको छ
मजदुरीमा मजबुरी बोनस थपिएको छ
रमाउ, अझै रमाउ ।

यो आधुनिक दुनिया
यो पुजीवादी दुनिया
लाग्छ-
सिसिभरको स्वर्णमहल हो
र बाँकि मरुभूमी ।