Source: http://blogbishad.blogspot.com
थोरै आशु नजरबन्द गरेर
बदामका सोलीहरुमा यात्रा कैद गर्दै
ब्रम्हनलका ऐनाहरुमा दुई झापड हिर्काएर
सिँगो कालिजबस्ती
उही धरापी बस्तीमा लौरो टेक्दै फर्कन्छ
र पृथ्वीनारायणलाई धुप छर्दै
किर्तीपुरतीर फर्केर जोडले थुक्छ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ
कहिले राष्ट्रियताको दाते ओखरमा
आयातीत नुन छर्केर
आफ्नै बुद्धिबङ्गारा सिध्याउछ
कहिले मानदेवको अभिलेखतीर धाएर
केही चामलका सिताहरु पोको पार्छ
र पशुपतीका परेवालाई छर्केर
बरु दुईरात भोकै बस्छ
कालिजबस्ती आफ्नै छाला काढेर पनि नाङ्गीन्छ
अनी
मानवता र मानववादको चिउडो समात्दै
सबैभन्दा निकटको आत्मालाई एक जुनीभर रुवाउछ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ
कालिजबस्ती बरु दिनभर
सूर्यको आँखामा आँखा जुधाउन सक्छ
तर ऐनाभीत्र
अह !
कहिल्यै हेर्ने आँट गर्दैन
पगडिमा बोझको भारी भिरेर
सगरमाथाको आधि सपना देख्छ
र विजयलाई दुई सेन्टमा साट्दै
पाँच बल्र्याङ्ग खसेर
अन्तिमपटक मुस्कुराउछ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ
तर सुनिन्छ
अचेल कालिजबस्तीले नयाँ छोरो जन्माएको छ रे ।
Subscribe to:
Post Comments (Atom)
0 comments (Click here to Comment):
Post a Comment