जून फूलेको छ आकाशको एउटा हाँगामा
ताराहरु जुनकिरीजस्तै जिस्किदै–लुक्दै, बल्दै–निभ्दै गरिरहेछन्
परसम्म फैलिएको यो नदी
कुनै मिठो गीतजस्तो गरी गुञ्जीरहेछ
मेरी आमाजस्तै स्नेह बाँडेर
यी बगरमाथीका खेतहरु सुवास छरिरहेछन्
आजसम्म कुनै रात यति सुन्दर लागेको थिएन मलाई ।
सुस्तरी हावा चलेको छ
मायाले कपाल स्पर्श गर्छ
काननीर आउछ र मीठो कविता सुनाउछ
नदीबाट छचल्किएर पानीका थोपाहरु मलाई भिजाउछ
र सब थकान बगाउछ
औलाहरु बाँसुरी बजाएको अभिनय गर्छन्
र कानमा आफै बज्न थाल्छ सुरिलो धुन
नजिक आएर अबोध गँगटा मेरो खाली खुट्टा सुम्सुम्याउछ
र आफै लुक्छ वालुवामूनी
वालुवाका कणहरु पनि विशाल लाग्दैछ आज ब्रम्हाण्डभन्दा
सिँगो ब्रम्हाण्ड पनि सानो लाग्दैछ वालुवाका कणहरु भन्दा ।
यो क्षण
यात्राको यो पहिलो क्षणमै
म चिन्दैछु
आफैलाई
जीवनलाई
सुन्दरतालाई
यात्रा त भख्खर सुरु भएको छ
अझै कति सुन्दर छ होला यो सिँगो संसार ।
(१० असार, ०७०)
Subscribe to:
Post Comments (Atom)
0 comments (Click here to Comment):
Post a Comment