ओ क्रिसमस !

यो रातो रङको सान्टा टोपी
मानौ मेरी आमाको रातो पछ्यौरी हो ।

खाली झोलाभरी मनलाग्दी उपहारहरू
मानौ मेरी आमाले गाँस कटाएर मलाइ किनिदिएका
थरी-थरीका खेलौना हुन् ।

कुनै काल्पनिक सान्टालाई रमाइलो लाग्ने
यो चिसो साझ
बिझिरहन्छ उनलाइ
झन-झन दुख्छ उनको गोडा
चिसो हुन्छ जीउ
उनको जिन्दगीजस्तै ।

यो अस्पतालको शैयामा
थला परेर पल्टेकी उनी
र उनको फुलबुट्टे ब्ल्याङकेट
मानौ मलमा सजिएको क्रिसमस ट्रि हो ।