(लघुकथा)
आलीमा गुन्द्री ओछ्याएर नुमे बा आफ्नो सानो नातीको लागी भुरुङ बनाउदै थिए । नाती आफ्नो प्यारो भुरुङ बन्न लागेकोमा निकै रमाइलो मान्दै नुमे बा को छेउमा बसेको थियो । त्यतीखेरै एउटा कालो बंगुर छेउमै आएर उभीयो । नाती बंगुरसीत डराएर रुनै लागेको देखेर हाँस्दै नुमे बा ले सुनाए की उनी सानो हुँदा बंगुर छोए भने देउता रिसाउछन् भनेर जिब्रो छेड्नुपर्थ्यो रे, तर अहिले दुनिया बदलिएको छ रे, प्रगती भएको छ रे, अब अन्धविश्वास मान्नुहुन्न रे । बंगुरलाई धाप मारेर उनी भने फेरी खुर्पाले भुरुङ ताछ्नपट्टि लागे ।
नुमे बा को नातीकै उमेरको पदम दौडिदै त्यहिनेर आयो । अघि रुदै गरेको नाती पदमलाई देखेर खुशी हुँदै जुरुक्क उठ्यो । काठको एउटा सानो टुक्रा र एउटा पुरानो सानो किला नुमे बा तीर तेर्स्याएर लजाउदै पदमले आफुलाई पनि भुरुङ बनाइदिन भन्यो । नुमे बा भने हुत्तिएर पछाडि सरे र पदमलाई नानाभाती गाली गर्न थाले । पदम तुरुन्तै त्यहाँबाट भाग्यो । नातीको हँसीलो मुहार फेरी मलिन दखियो । पदम गएपछि नातीलाई नुमे बा ले सुनाए 'यो सार्कीको छोरालाई छुनु हुन्न बुझिस् देउता रिसाउछन् ।' अबुझ नाती भने लगातार भुरुङ ताछिरहेको हेर्दै थियो । अघिको प्राणभन्दा प्यारो भुरुङ उसलाई यतीखेर खाली एउटा काठको टुक्रा लाग्दै थियो ।