Source: http://blogbishad.blogspot.com
अचानक उसको खुट्टा ढुँगामा ठोकियो र दाँहिने चप्पल घस्रीदै गएर तल खोल्सामा खस्यो । ऊ मुखबाट 'ऐया… ऐया…' आवाज निकाल्दै त्यहि ढुँगामा अडेस लगाएर बसी । पर पुगेका उसका दौतरीहरु पनि ऊ तिर फर्के ।
वर्षौपछि गाउ फर्किदै गर्दा उसको मनभरी एक किसिमको रोमांचकता खेलिरहेको थियो त्यसैले उकालोमा चढ्दा पनि उसलाई ख्यालै भएन, उसको खुट्टाले ढुँगाको चोट पाउला भनेर । ढुँगामा अडेस लाग्दै उसले एकटकले आफुतिर फर्कदै गरेका आफ्नी साथीहरुलाई हेरी । ती सबै साथीहरु उसँगै फर्किएका थिए खाडिको दरबारबाट । गाउबाट उसलाई आमाको फोन आएको थियो । आमाले रुदै भनेकि थिइन "छोरी तलाई बुढा आमाबुवाको याद आउदैन ? त कसरी यस्तो कठोर भएकी छोरी ?” उत्तीबेलै ऊ भक्कानिदै रोएकी थिइ बेगमको 'मेकअप' कोठामा । अर्कोदिन नै उसले आफ्नी साथीहरुलाई जम्मा गरी र आउने निश्चित भयो चारवटी साथीहरु । कौशीकी भने आउन मानिन । ऊ त भन्दै थिई "त्यो देशले मलाई भोकभोकै लखेट्यो, अब त्यै देशले बोलाओस् न काम दिने गरेर, किन आमाको आशु पुछ्न मात्र जानु ? भोली हामी त्यहि पहाडमा रुने दिन आयो भने त्यो देखेर आमा फेरि रुदिनन् र ? उनको रुवाई त रोकिदैन यसरी ।” तर उसले मतलब गरीन कौशीकीको कुरा । ऊ त भन्दै थिइ "सब वाहियात ! विदेशमै भिझेछि यो कौशीकी त ।”
उसले झोलाबाट पानीको बोतल निकाली र दुई घुट पानी खाइ । पानी खाँदा गाउमाथीको चीसो झरनाको यादले झन् अत्यायो उसलाई । डाडामाथी घामले रङ बदल्न थाल्यो । उसको घाउमा दिलसराले कपडा बेरेपछि रगत केहि रोकिएको जस्तो भएथ्यो तर अझै दुखी नै रहेको थियो उसको घाउ । अब पनि नहिडे आजै घर पुगीनेवाला थिएन । ऊ जबर्जस्ती हिडि तर केही धिमा गतीमा । उसको मनमा गाउ फर्किन लागेको रोमांचकताले फेरी ठाउ लियो ।
ऊ अर्थात गंगा, २० वर्षकी थिइ विदेश पस्दा । दिलसरा पनि त्यति जतिकै हुदी हो । दुवै आ-आफ्ना घरका एक्ली छोरी थिए । गाउमा दिलसरा मगर परिवारकी छोरी, गंगा बाहुन कुलमा जन्मेकी तर दुवैको परिवार आर्थीक रुपलॆ कमजोर थिए । भलै भिन्न जातका थिए तर सानैदेखिका एकदमै मिल्ने साथी थिए उनीहरु । दुवैले सँगै एस. एल. सी. पास गरे र त्यसपछि दुवैका बावुआमाले बल्लतल्ल पठाएका थिए उनीहरुलाई राजधानीमा सँगसँगै पढ्न । दुवैले खुब मेहनत गरेर पढे, प्रविणता पनि सके । त्यसपछि न अरु पढ्न सके न त कुनै काम नै पाए र दुवैजना फर्किए गाउ । तिर्न बाकि पुरानो ऋण, कमजोर आर्थीक स्थिति आदि कारणले खाडि जान पाखाँबारी बेच्न कर गरी गंगाले । त्यसको केही दिनपछि नै दिलसरा पनि गंगासँगै खाडि जान्छु भन्न थाली आफ्नो घरमा । उनीहरुको गाउका सबै युवाहरु उतै हानिन्थे तर केटीहरु आजसम्म गएका थिएनन्। पहिल्यै कम्ती ऋण थिएन उनीहरुमाथी तर धेरै कर गरेपछि बल्लतल्ल मानेका थिए दुवैका पसिरवारले । गंगा त भन्थी "पख न जेई ! आज साहुलाई पाँखाबारी बेच्नुपरो, ऋण बोक्नुपरो, पछि फर्किएर साहुको सबै बारी किन्छु तिमी हेर्नु ।”
तर आज ऊ ती बारी किन्ने सामथ्र्य बोकेर फर्किएकि होइन । ऊ त आफ्ना बुढा बावुआमाको आशुले पँग्लेर फर्केकी हो ।
पल्लो गाउकी दुइवटी साथीहरु बाटोबाटै छुट्टिए । दिलसरा र गंगा एउटै गाउका थिए । जब गंगाले खोला काटी, उसले खुट्ठाको पिडा पनि भुली र जोडले दौडेर सबैभन्दा अग्लो सल्लाको रुख छोई । दिलसराले पनि त्यसै गरी तर अलि पछि मात्र । गंगा उर्फिदै कराइ "आज पनि म पहिला ।” दिलसरा लजाउदै थोरै हाँसी ।
सल्लैसल्लाको सानो उकालो कटेपछि तीस-चालिस वटा जति साना-साना माटोका घरहरु देखियो । दुई-तिनवटा फूलका विरुवा, त्यसमा सयपत्री फुलेका, सफा आँगन, रातो माटोले लिपेको दैलो, खरले छाएका छाना अनि घरसँगै जोडिएको एउटा-एउटा गोठ । सबै घरहरु एकदमै समान थिए । अलि माथीतिरको एउटा घर भने निकै भव्य थियो । सिमेन्टले बनेको, माथिल्लो तलामा बार्दली भएको, झण्डै महल भनेपनि हुनॆ । गंगाले अन्दाज लगाउदै भनि "पक्कै त्यो घर त्यहि फोक्से साहुको होला । चुत्थो फोक्से डाँकाको ।” दिलसरा खितित्त हाँसी । गंगाले लामो सास तानी र अन्त कतै नहेरिकनै आफ्नो घरतिर जोडले दौडिई । उसले निकै पर पुगेपछि दिलसरातिर फर्केर 'भोली भेटौला है' भनी र फेरी दौडिई । दिलसरा पनि चिच्याउदै 'हुन्छ' भनेर आफ्नो घरतिर दौडिई ।
त्यो रात घरमा गंगाका आमाबावु खुब रोए । उसले शहरबाट आमालाई ल्याइदिएको धोती दिई र बुवालाई टोपी दिई । उसको बुवा भने हिडडुल गर्ननसक्ने भैसकेको थियो । आमा नै बारीमा, घरमा सबै काम गर्ने रहिछन् । गंगाले बेलाबेलामा पठाएको पैसा पनि साहुलाई ब्याज तिरेरै ठिक्क हुने रहेछ । गंगाले मनमनै सोची "अब यतै बसेर केहि काम गर्नुपर्ला ।" ऊ निकै थाकेकी त थिई तर पुरै रात आमाबुवासँग कुरा गर्दै बिताई । बिहान ३ बजेतिर आमाको न्यानो काखमा मिठो निद्रा पर् यो उसलाई ।
'ढकढक… ढकढक…'
निकैपटक ढोकामा 'ढकढक' आवाज आएपछि गंगाकी आमाले छोरीलाई काखबाट ओछ्यानमा सारी र ढोका उघाँरी । एउटा ९/१० वर्षजतिकी सानी बच्ची लामो सास तान्दै केहि भन्न खोज्दैथिई तर उसको बोली भने बिच-बिचमा अड्कीरहेको थियो ।
"दिदी… दिदी… दिलसरा दिदीको… दिलसरा दिदीको…”
आफुले ओढिराखेको मैलो सिरक हुत्याएर गंगा जुरुक्क उठी र बच्चीको पुरै कुरा नसुनेरै बाहिरतिर दगुर्न लागी । १२/१५ घरहरु कटेपछि एउटा घरको आँगनमा ठूलो भिड देखियो । गंगा निकै आत्तिई । ऊ आकाशतिर फर्किई र हात जोड्दै दुवै आँखा चिम्म गरी । धेरै हिम्मत बटुलेपछि ऊ बिस्तारै भिडतिर बढी । भिडमा कोही रोइरहेका थिए भने कोही 'चुँचुँ' गर्दै सान्त्वना दिदै थिए । ऊ अब भिडभित्र पसी । उसले देखी दिलसराकी आमा आँगनमा शान्तसँग सुतेकी थिई, उसका दुवै आँखा चिम्म थिए, उसमाथी सेतो कपडा ओढाइएको थियो । छेउमै बसेर दिलसरा निकै जोडजोडले रुदै थिई । भिडबाट एउटी आइमाईको सानो आवाज आयो ।
"पैला ले'को ऋणको पैसा लिन साहु राती नै घर आयो रे । दिलसराले पैसा कमाकि रैन'छ । पैसा तिर्न नसकेपछि साहुले 'तेरी छोरीलाई अब वेश्या बन्न पठा मेरोमा' भन्देछ रिसार । आमाले सहनै सकिन र झुण्डीछ त्यो रुखमा ।”
फेरी अर्कि आइमाईले थपी ।
"यस्ती कलंकीनी छोरी जन्माएपछि कसरी बाँच्थी त ? ”
यतिन्जेल गंगाकी आमा पनि भिडमा मिसिसकेकी थिइन् । गंगाले आमातिर हेरी र कसैले आफ्नी आमालाई केही भनिहाल्छ की भनेर डराई । गंगालाई त्यो भिडमा निकै चक्कर लाग्यो र तुरुन्तै फर्किई त्यहाँबाट ।
मान्छेहरु ऊ आइरहेको बाटोतिर दौडिरहेका थिए तर ऊ एक्लै हिडिरहेकी थिई- उल्टो दिशातिर ।
***
राती तरवार भिरेको एउटा भिमकाय राक्षस छिर् यो बन्द ढोकाबाट । गंगा, उसकी आमा र बुवा पानी नै पानीको चीसो छालमाथी सुतिरहेका थिए । उसको बुवा त्यहि ढोकाबाट बगेर कतै विलायो । त्यो राक्षस जोडले हाँस्दै चिच्याउन थाल्यो "तेरी छोरीलाई अब वेश्या बना ।” र उसले देखि तुरुन्तै उसकी आमा उडि खरको छत छेडेर, निकै माथी उडि, धेरै माथी र चिच्याउदै ठूलो ढुँगामा बज्रीई ।
***
गंगा असीनपसीन भएर ब्युझीई । उसको खुट्टाको घाउ धेरै रन्केको रहेछ । उसले आफुसितै सुतिरहेकी आमालाई हेरी अनि फेरी दिलसराकी आमालाई सम्झिई । अनि फेरी कौशीकीले भनेको कुरा खेल्न थाल्यो उसको मनमा ।
"पहाडमा रुने दिन आयो भने त्यो देखेर आमा फेरि रुदिनन् र ? उनको रुवाई त रोकिदैन यसरी ।”
पर्सीपल्ट गंगाले आफ्नो झोला मिलाई । बुवाआमालाई निकैबेरसम्म सम्झाउने कोसीस गरी र अन्तिममा आमालाई भनि "जेइ ! यो पाली साहुको सबै बारी किन्न सक्ने भएर आउछु, तिमी हेर्नु ।” उसका बुवाआमा निकैबेरसम्म रोइरहे । बाटोमा दिलसरा भेटीई । ऊ पनि छिट्टै फर्किन्छु भन्दै थिई ।
गंगा अब कहिल्यै विदेशीन्न भनेर आएकी थिई तर ३ दिनपछि नै ऊ फेरी परदेशी भई ।
(नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालयद्धारा प्रकाशित 'मिर्मिरे', साहित्यिक अंक, २०८० बाट साभार)