बरफ

कुनैबेला म पानी थिए

आज बरफ बनेछु ।


कल्-कल् गतीमा 

बगिहिड्थे भीरपाँखा

थोपा-थोपा उमंगमा

हिडिरन्थे दिनरात

एक अथक यात्रि बनेर 

निस्केको थे

खै कुन्नी कुन यात्रामा !


मसँग जिस्किएर

खुशीहरू पौडिरन्थे

मसँग मिसिएर

आशाहरू उर्लिरन्थे ।


अनन्त यात्रा सकाएर

आज जमेको छु म बरफ 

मसँगै गुटमुटिएर मरेका छन्

सपनाका पखेटाहरू

जीवनका कमिलाहरू

यादको मैलो थुप्रिएको छ मसँगै

र अध्याराका केहि कणहरू 

लुकेका छन् मेरा थोपाभित्र ।


गर्न चाहेका 

कति अधुरा यात्राको अन्त्य सहेर

जमेको छु म बरफ

गर्न नचाहेर पनि गरेका 

कति गल्तीका रासहरूमाथि

जमेको छु म बरफ ।


कतैबाट आओस् एक धर्को किरण

र देओस् मलाई मुक्ति

म बरफ !

बाफ बनेर उड्न चाहन्छु ।


AI recorded songs (Lyrics by Bishad)

To listen full playlist of AI recorded songs of BISHAD, Click on link below: -

https://youtube.com/playlist?list=PLCBjnKmrJb7q7DIV4Ps4g1r5YTKWOhahs&feature=shared