Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

आँखा

पुरानो डसनाजस्तै त छन् यी आँखा
यी आँखामा जमेका छन्
धुलोजस्तै सपनाहरू ।

रूझ्दै-धुदै-सुक्दै
तन्ना बनेर परेली
छोपिदिन्छ यी आँखा।

नागपञ्चमी

नागतन्त्र अर्थात यो लोकतन्त्रमा
एकैदिन पर्नुपर्ने: नागपञ्चमी र चुनाव 
के फरक छ र ?
नागचित्र टाँस्नु मूलढोकामा
र खसाल्नु मतको काँचुली पेटीकाभरी ।

आखिर डसेरै छोड्छन् नाग-
भुइँबाट, कुर्सीबाट ।

काइयो

जवानी 
नया काइयो जस्तै हो
लहरै मिलेर बसेका हुन्छन्
उमंगका दातहरू ।

उमेर ढलेपछि
अौधि माया लाग्छ
थोते काइयोको पनि।

निन्द्रा

कसले भन्छ
कि प्रेममा  
लाग्दैन निन्द्रा
मज्जाले लाग्छ ।

बरू गरीबीमा लाग्दैन
भोकले निन्द्रा ।

यसरी बाँचिदिउ

लाग्छ यसरी बाँचिदिउ
कि मेरै सपनाले डाह गरोस
मेरो जिन्दगीसँग ।

स्याम्पु

समाजको कपालभरी पर्यो लिखा
र पखाल्न स्याम्पु जन्मियो
अर्थात धर्म जन्मियो ।

अचेल
समाजको आँखा छोपिएको छ पीरो फिजले
र लिखा पसेको छ मगजभित्र ।

सारङ्गी

जसै रेटिन्छ तार
बज्छ थाल्छ सारङ्गी ।

सारङ्गी सिकाउछ-
'अरूको पीडाको धुन
मन पराउछ यो दुनिया ।'

कप

चुमिरहन्छु
प्रत्यक चुस्कीसँगै
र तिमि भएको कल्पना गर्छु ।

चियाभन्दा तिमिले दिएको
यो कपको स्वाद मिठो लाग्छ ।

डोरी

पेट भोकै पारेर
एकदिन रित्याइए सबै बोरा
र बोराका रेशा-रेशा बाटेर
पूजिवादले बेच्न थाल्यो
गर्धन बेर्ने डोरीहरू ।

तिमि ब्रान्डेड डोरी किन्छौ
र म कमसल 
किन्ने त मृत्यु न हो ।

चश्मा

हर मुस्कान भित्र
लुकेका छन् 
अनगिन्ति पीरहरू ।

मान्छे हाँसेको 
प्रष्ट देखिन्छ चश्माबाट ।

लुकेका व्यथा देखिने चश्मा
सायद आविष्कारै भएन ।

टोपी

निर्जिव हिमालले मात्र
बनेको छैन यो देश ।

खासमा बनेको छ
सजिव आत्माहरूले ।

जसरी
ढाका टोपी नै देश होइन
बरू तिम्रो शीर हो देश ।

परिचयपत्र

पासोजस्तो झुण्डिएर
दिनरात मेरो घाटिमा
यो परिचयपत्र
मसँगै माग्दैछ
मेरो परिचय ।

मान्छेको परिचय
नाम, दर्जाले मात्र
कहाँ जनाउछ र !

झुमर

झुमरका काचभरी छन्
मजदुरका चोटका राता धब्बाहरू
त्यसैले त यति मजा लिदैछ
यो सम्भ्रान्त रात ।

ऐना

घामसँग
समाजसँग
सिँगो संसारसँग
सहजै सक्छ मान्छे
आँखामा आँखा जुधाउन
मात्र
ऐनासँग सक्दैन ।

गलबन्दी

जति पटक धोएपनि
जादैन दाग
मेरो गलबन्दीबाट ।

सायद
उनीभन्दा पनि 
बढी टिकाउ रैछ
उनको ओठको लिपिस्टिक ।

चुरोट

नजिस्कनु भन्छन् मृत्युसँग 
म अबुझ
चुमिरहन्छु मृत्युलाइ ।

नपत्याए हेर
मेरो ओठको चुरोट ।

#Smoking_Kills

कोट

आज गनाइरहेछ
यो कोटको भित्री खल्ती
यहाँ भेटिएका छन् 
सडेका
ल्वाङ, सुकमेल र सुपारी ।

आसुसित मुछिदा
बेस्वाद लागेको थियो
तिम्रो लगनको भोज
गल्तीवश 
खल्तीभरी भर्न पुगेछु
एकमुठी माया भन्ठानेर।

किताब

मुसाजस्ता शब्द
भ्यागुताजस्ता पाना
र स्यालजस्ता गाता ।

न घर जस्तो
न चिडियाखाना जस्तो 
न जिवन बुझाउने
न उज्यालो बचाउने ।

यि सब किताब 
एक-एक गरी च्यातिदेउ ।

कलम

कलम ठूलो कि तरवार ?
यो प्रश्न गर्ने कलमलाइ
भर्खरै लगाइयो हतकडी 
र हुलियो
तरवारको कारागारभित्र ।

चुकुल

खतरनाक छ चुकुल 
खुकुरीभन्दा पनि ।

चुकुल लाएपछि- 
बन्द कोठामा 
देश बेचेपनि
कसैले चाल पाउन्न ।

खुकुरी हार्दा कमसेकम 
हारको कथा सुनाइन्छ ।

के कसैले सुनेको छ 
चुकुलको कथा ?