दाउरा जलाउदै गर्दा
तिम्रो सम्झना पनि जलाउछु
म सधै जलिबस्छु
म सधै आगो खेलाउछु
मलाइ चुल्हो भन्ठान्छन्
र रोटी सेकाएर जान्छन् मान्छे ।
चिसो मन
चिसो सम्बन्ध
र चिसो सोच
आधुनिक मान्छे
मानौ फ्रिज बनिसके ।
तासजस्तो नबन्नु भन्थे बा
भन्थे-
"जित्नेले पनि फालिदिन्छन्
हार्नेले पनि फालिदिन्छन् ।"
बरू छाता जस्तो बन्नु भन्थे
भन्थे-
"झरीमा पनि काम लाग्नु
घाममा पनि काम लाग्नु ।"
बेलनले घाटीमा थिचेर
अन्तिम थोपा पनि
निचोर्दैछु
यतिखेर-
म कारखानाको
मालिकझै लाग्दैछु
र यो टुथपेस्ट
श्रमीकझै ।
शरीरभित्र छन्
काला पुराना घाउहरू
तिमि पनि बुझि-नबुझि
ममाथी थुकिदिन्छौ
अरूलाइ सफा गर्दा गर्दै
म डस्टबीन, फोहोरी कहलिसके ।
संसारको कुरा सुनाउछ
तर मेरो सुन्दैन
मलाइ मेरी प्रेमिका
र यो टेलिभिजन उस्तै लाग्छ ।
यताउता सार्दा
घामका किरण झर्छ हातभरी
मानौ यो पर्दा हल्लाउदा
याद झर्छ हातभरी
पर्दा बाहिर गएको भए
घामको किरण मेरो हुन्थ्यो
म पर्दा भित्र छु
केवल याद मेरो भयो ।
आदिकालमा केवल भित्ता थियो
सब बन्धक थिए
अहिले यहाँ झ्याल बनेको छ
कमसेकम चुपचाप
स्वतन्त्रता चियाउन पाइएको छ
भोली यहाँ म ढोका बनाउनेछु
र सधैलाइ स्वतन्त्र हुनेछु ।
Subscribe to:
Posts (Atom)