आज गनाइरहेछ
यो कोटको भित्री खल्ती
यहाँ भेटिएका छन्
सडेका
ल्वाङ, सुकमेल र सुपारी ।
आसुसित मुछिदा
बेस्वाद लागेको थियो
तिम्रो लगनको भोज
गल्तीवश
खल्तीभरी भर्न पुगेछु
एकमुठी माया भन्ठानेर।
मुसाजस्ता शब्द
भ्यागुताजस्ता पाना
र स्यालजस्ता गाता ।
न घर जस्तो
न चिडियाखाना जस्तो
न जिवन बुझाउने
न उज्यालो बचाउने ।
यि सब किताब
एक-एक गरी च्यातिदेउ ।
कलम ठूलो कि तरवार ?
यो प्रश्न गर्ने कलमलाइ
भर्खरै लगाइयो हतकडी
र हुलियो
तरवारको कारागारभित्र ।
खतरनाक छ चुकुल
खुकुरीभन्दा पनि ।
चुकुल लाएपछि-
बन्द कोठामा
देश बेचेपनि
कसैले चाल पाउन्न ।
खुकुरी हार्दा कमसेकम
हारको कथा सुनाइन्छ ।
के कसैले सुनेको छ
चुकुलको कथा ?
मोटा-पातला
ठूला-साना
पुराना-नया
हरेक बोतलहरू
बिर्कोबिना रित्ता हुन्छन् ।
सानो बिर्कोको ठूलो काम छ
सायद !
केहि सानो हुदैन
कोहि सानो हुदैनन् ।
म मार्बल भएर
मार्बलमै चिप्लिएर
पुग्न पाए हुन्थ्यो
तिम्रो अँगालोमा ।
तिमि चरी
आकाशमा उड्छ्यौ
म मार्बल
सायद भुइमै सुहाउछु ।
जती आफ्नो ठानेर
छातीमा टासेपनि
आखीरमा
टाउको टेकेरै छाड्छ सिरानी ।
कहाँ-कहाँ
टाढा-टाढाबाट बग्दै
आइदिन्छ पानी धारामा
मानौ आमाले पठाकि हुन्
एक बोरा कोशेली ।
Subscribe to:
Comments (Atom)

