मेरी दिदी

Source: http://blogbishad.blogspot.com 
मेरी दिदी
आफ्ना दुब्ला-चेप्टा हातका औलाहरु खेलाएर
निकै लामो

नाइल नदिजस्तै लामो
एउटा चुल्ठो बाट्थीन
र चुल्ठोको टुप्पोमा कस्ने गर्थीन
एकहाते सेतो रिबन ।

उनी बगरका वालुवामा लुट्पुटिएर
घण्टौसम्म गँगटासँग
डराउने गरेका ती दिनमा
म रुखको फेदमा बस्थे
र द्रौपतिको चिरहरण सम्झेर तस्रन्थे
उनी जङ्गलमा दिनभर दाउरा खोज्दै
हिड्ने गरेका ती दिनमा
म यता कक्षाकोठामा टोलाउथे
र सिताअपहरणको कथा पढेर झस्कन्थे
उनी गँगटाले टोकेपछि
थोरै सेतो रगत वाक्थीन
उनी वन-काँडाले डसेपिछ
केहिक्षण घुक्क-घुक्क रुन्थीन
उनको त्यो रुवाई
त्यो पिडा
थोरै-थोरै गरी जमेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
जबर्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

उनी चिच्याउन त चिच्याउथीन
तर हसियालाई उनले दाउरा काटेरै मात्र
भुत्ते बनाइन
काँडा ताछ्नुपर्छ भन्ने बुझिनन्
उनी कराउन त कराउथीन
तर नाङ्गा पैतालाले
गँगटाहरु कुल्चिनुपर्छ भन्ने जानिनन्
उनको त्यो चित्कार
त्यो क्रन्दन
बिस्तारै बढेर
एउटा लामो चुल्ठो बनेको थियो
जसको टुप्पोमा उनले
बलफ्जस्ती कसेकि थिइन
एकहाते सेतो रिबन ।

आज मैले
वर्षौपछि भेटे उनलाई
नख्खुजेलभित्र
उनले त्यो फोहोरी चुल्ठो काटेर
लाग्थ्यो कुनै सुन्दर सपनाको लागी
आफ्ना कपालहरुलाई स्वतन्त्र छाडेकी थिइन
र अब सदाका लािग
निधारमा कसेकि थिइन
एकहाते रातो रिबन ।
(२५-०३-०६७)

कालिजबस्ती

Source: http://blogbishad.blogspot.com
थोरै आशु नजरबन्द गरेर
बदामका सोलीहरुमा यात्रा कैद गर्दै
ब्रम्हनलका ऐनाहरुमा दुई झापड हिर्काएर
सिँगो कालिजबस्ती
उही धरापी बस्तीमा लौरो टेक्दै फर्कन्छ
र पृथ्वीनारायणलाई धुप छर्दै
किर्तीपुरतीर फर्केर जोडले थुक्छ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ

कहिले राष्ट्रियताको दाते ओखरमा
आयातीत नुन छर्केर
आफ्नै बुद्धिबङ्गारा सिध्याउछ
कहिले मानदेवको अभिलेखतीर धाएर
केही चामलका सिताहरु पोको पार्छ
र पशुपतीका परेवालाई छर्केर
बरु दुईरात भोकै बस्छ
कालिजबस्ती आफ्नै छाला काढेर पनि नाङ्गीन्छ
अनी
मानवता र मानववादको चिउडो समात्दै
सबैभन्दा निकटको आत्मालाई एक जुनीभर रुवाउछ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ

कालिजबस्ती बरु दिनभर
सूर्यको आँखामा आँखा जुधाउन सक्छ
तर ऐनाभीत्र
अह !
कहिल्यै हेर्ने आँट गर्दैन
पगडिमा बोझको भारी भिरेर
सगरमाथाको आधि सपना देख्छ
र विजयलाई दुई सेन्टमा साट्दै
पाँच बल्र्याङ्ग खसेर
अन्तिमपटक मुस्कुराउछ
शोकको धुनमा कालिजबस्ती
खुट्टामात्र फट्याउछ

तर सुनिन्छ
अचेल कालिजबस्तीले नयाँ छोरो जन्माएको छ रे ।

म कस्तो मान्छे

Source: http://blogbishad.blogspot.com
म मान्छे भित्रको हराएको मान्छे
म मान्छेहरु बीचको एक्लो मान्छे
म छायाँ बिनाको मान्छे
म रगत बिनाको मान्छे
बोली त छ तर म शब्द बिनाको मान्छे
जीवन त छ तर म मरेको मान्छे
कहिलेकािहं ऐनाहरुमा परेड खेल्दा
केवल दुई पटक हाँसेको मान्छे
म मेरै वस्तीको पाहुना मान्छे
साँच्चै म लाटो मान्छे

बिफरका दागहरुमा घोत्लिएर
कुटोकोदालो चलाएर
मकै उमारेको मैले नै हो
बिना वर्षामा पिन
कहिले आँशु
कहिले पसिना
र कहिले रगत सिाचएर
जग बसाएको पनि मैले नै हो
तर म आफ्नै खेतका डिलहरुमा
लडाइएको मान्छे
म मिहेनती मान्छे
तर म नै विवश मान्छे
साँच्चै म मान्छे भित्रको कस्तो मान्छे

हुरीका हुरी वर्षिएर मलाई रुवाएको त
धेरै भएको छैन
पल्ला घरका काकाले 'लडेर बाँच' सिकाएको
पनि त धेरै भएको छैन
तर म आफ्नै छतका ढुङ्गाहरुम्ाा
सयौं पटक बजि्रने गरेको मान्छे
म पौरखी वीर र साहसी मान्छे
तर म आफ्नै नजरमा गिरेको मान्छे

आकाशको रेतीमा रेटेर जाबो बादल
यसपाली पनि त झारिएन
कतै आफ्नै आँगनको डिलमा फेरी एकपटक
आफ्नै आत्मा त मारिएन
म ऐना भित्रको विम्वहरुमा पिन
आफैलाई नचिन्ने मान्छे
साँच्चै म कस्तो मान्छे
साँच्चै म कस्तो मान्छे
०६-०४-०६४

दर्दनाक जोक

मैले भख्खर खबर पाए
एउटा दर्दनाक जोक सुनेर
अन्ततः उसको मृत्यु भयो ।

तिम्लाइ हाँसो लाग्यो होला सायद
कसैलाई हाँसो लाग्ने
कसैलाई पीडा हुने
यो कस्तो जोक हो यार ?

एउटा ‘क’ पात्रले यसलाई सुनाएथ्यो
‘हात्तीको दात बाहिर निस्किएकोले उसको बिहे भएन’
बाकि सब मरिमरि हाँसे
ऊ भने हाँस्न सकेन
सायद उसलाई लाग्यो
हात्तीको देखाउने दात र ऊ एउटै हो ।

जोक सुनेपछि उसलाई बेस्मारी ज्वरो आयो
रिङटा लाग्यो
कामेको हातले मानौ अन्तिम पेग जिन्दगी उठायो
कल्ले धेरै पीउने बहानामा सकिनसकि पियो
र फाइनान्समा भख्खर लिएको चमकदार बाइक चढेर
ऊ डेराको कालकोठरीतिर निस्क्यो ।

अ... उसको बारेमा भन्नुपर्दा
ऊ सानैदेखि डराउथ्यो आफ्नो दुब्लोपनदेखि
ऐनाको आफ्नो प्रतिविम्बदेखि
‘थुक्क जोक पनि नबुझ्ने मु**, पाँखे’
कसैले यस्तै केही भनिदेला भनेर
उसले अरुको कुरा सकिनु अघि नै थपडी बजाउनुपर्छ भन्ने सिक्यो
कसैले ‘पाँखे’ भनिदेला भन्ने डरले
उसले पहिल्यै अरुलाई ‘पाँखे’ भन्न थाल्यो
अब ऊ नाँच्दै थियो
सापटी सपनाको झिलीमिली डिस्कोमा ।

आखीर हो त ऊ उहि गाउले ‘पाँखे’
लक्की ड्र मार्फत बाँडिएको
कुँहिएको चामल खाएर भिरपाँखामा हुर्किएको
यो शहरी शुद्ध नग्नता उसलाई पचेन
अपच सपनाको फुडपोइजनिङ भएर
पहिल्यैदेखि बिरामी त थियो नै
अझ त्यो माथी यो हदसम्मको दर्दनाक जोक ।

भाँडाको चारपाटे कोठामा गएर उसले बेस्मारी छाद्न थाल्यो
उसले ओकल्यो
–    फेयर एण्ड हेन्समको सिद्धिएको कालो ट्युब
–    सिसा फुटीसकेको फेसनदार चश्मा
–    बाइकको तिर्न बाकि क्षतविक्षत रसिदहरु
–    कुनै केटीको नग्न फोटो
–    फेल भएको सर्टिफिकेट
–    गाजा बनाउन ठिक्क पारिराखेको चम्कीलो कागज
र अन्तिममा
–    भख्खर बितेकी बुढी आमाको अन्तिम पत्र ।

मैले ढाँटेको होइन
नपत्याए उसको पोस्टमार्टम रिपोर्ट पल्टाएर हेर्नुस्
‘एउटा दर्दनाक जोक सुनेर
अन्ततः उसको मृत्यु भयो ।’
04 OCT 2012