मार्बल

म मार्बल भएर
मार्बलमै चिप्लिएर
पुग्न पाए हुन्थ्यो
तिम्रो अँगालोमा ।

तिमि चरी
आकाशमा उड्छ्यौ
म मार्बल 
सायद भुइमै सुहाउछु ।

सिरानी

जती आफ्नो ठानेर
छातीमा टासेपनि
आखीरमा
टाउको टेकेरै छाड्छ सिरानी ।

धारा

कहाँ-कहाँ
टाढा-टाढाबाट बग्दै
आइदिन्छ पानी धारामा
मानौ आमाले पठाकि हुन्
एक बोरा कोशेली ।

मोबाइल

सधै
कि दिमागको सुन्नु
कि दिलको
दिमाग र दिल नहुनेले
मोबाइलको सुन्नु ।

छाता

झरीमा ओढेपछि
भिझेको छाता
लैजान्न मान्छे कोठाभित्र
ढोकाबाहिरै पर्खाउछ ।

जसरी
भगवान पर्खाइ रहेछ
मन्दिर बाहिरै मूर्तीकारलाइ ।

जुत्ता

हरेक पाइलामा 
साथ दिदा पनि
हरेक मोडमा
सँगै हिड्दा पनि
थोरै मात्र च्यातिदा आज
जुत्ताजस्तै बदल्यो मान्छेले
आफ्नो हमसफर ।

डायरी

सबैको
सबै-सबैको
व्यक्तिगत डायरी
लिक हुन पाए इन्टरनेटमा
थाहा हुने थियो-
इतिहासभन्दा पनि खुनी भविष्य ।

सिलिङ

नियममै सधै बाँधिने भए
ग्राभिटिको नियम 
मान्नु पर्थ्यो यो सिलिङले
र खस्नु पर्थ्यो 
मेरो आङमाथी ।

धेरैथोक जोगाउन
केहि नियम 
भत्काउनै पर्ने रै'छ ।