आँखा

पुरानो डसनाजस्तै त छन् यी आँखा
यी आँखामा जमेका छन्
धुलोजस्तै सपनाहरू ।

रूझ्दै-धुदै-सुक्दै
तन्ना बनेर परेली
छोपिदिन्छ यी आँखा।

नागपञ्चमी

नागतन्त्र अर्थात यो लोकतन्त्रमा
एकैदिन पर्नुपर्ने: नागपञ्चमी र चुनाव 
के फरक छ र ?
नागचित्र टाँस्नु मूलढोकामा
र खसाल्नु मतको काँचुली पेटीकाभरी ।

आखिर डसेरै छोड्छन् नाग-
भुइँबाट, कुर्सीबाट ।

जीवनका धुनहरू

हाँगामाथी सुस्तरी टेकेर
हिउदमा सुकेर, झरीमा रूझेर
यि पाइला हुन् कि फूलहरू
फूल्दै गाउछन्, जीवनका धुनहरू

कहिले ग्रहण, कहिले खुशी
पूर्णे आउछ, आउछ अौसी
अँधेरीमा चाँदनी छरेर
तारासँग मिलेर, रातसँग लडेर
जूनले फुक्छ बिगुलहरू
फूक्दै गाउछ, जीवनका धुनहरू

खाल्डा-खुल्डी कति-कति यात्राभरी
चोट - खत - दाग होला मनभरी
मनको खालीपनलाइ पुरेर
छहारीले घेरेर, दुखलाइ छेकेर
चौतारीका शीतल पलहरू
सधै गाउछन्, जीवनका धुनहरू

काइयो

जवानी 
नया काइयो जस्तै हो
लहरै मिलेर बसेका हुन्छन्
उमंगका दातहरू ।

उमेर ढलेपछि
अौधि माया लाग्छ
थोते काइयोको पनि।

निन्द्रा

कसले भन्छ
कि प्रेममा  
लाग्दैन निन्द्रा
मज्जाले लाग्छ ।

बरू गरीबीमा लाग्दैन
भोकले निन्द्रा ।

यसरी बाँचिदिउ

लाग्छ यसरी बाँचिदिउ
कि मेरै सपनाले डाह गरोस
मेरो जिन्दगीसँग ।

स्याम्पु

समाजको कपालभरी पर्यो लिखा
र पखाल्न स्याम्पु जन्मियो
अर्थात धर्म जन्मियो ।

अचेल
समाजको आँखा छोपिएको छ पीरो फिजले
र लिखा पसेको छ मगजभित्र ।

मैले छुदा...

मनमा सबको देउतै त हुन्छ - सुनेथे
सबै मान्छे एउटै त हुन्छ - सुनेथे
तर सत्य बेग्लै हुदो रै'छ
छुन्न म आसु, मैले छुदा विष बन्दो रै'छ 

हास्छ मूर्ती - मैले खोपेको पत्थरको मूर्ती
बाँच्न देउ मलाइ, खै मेरो आकाश, मेरो धर्ती ?
मलाइ मान्छे नमान्ने, यो देउता म मान्दिन
मलाइ मान्छे नठान्ने, समाज म चिन्दिन

यो हावा, यो पानी, साझा त हुन्छ - सुनेथे
निराशामा नि आशा त हुन्छ - सुनेथे
सुनेजस्तो संसार नहुदो रै'छ
छुन्न म आसु, मैले छुदा विष बन्दो रै'छ

सारङ्गी

जसै रेटिन्छ तार
बज्छ थाल्छ सारङ्गी ।

सारङ्गी सिकाउछ-
'अरूको पीडाको धुन
मन पराउछ यो दुनिया ।'

कप

चुमिरहन्छु
प्रत्यक चुस्कीसँगै
र तिमि भएको कल्पना गर्छु ।

चियाभन्दा तिमिले दिएको
यो कपको स्वाद मिठो लाग्छ ।

डोरी

पेट भोकै पारेर
एकदिन रित्याइए सबै बोरा
र बोराका रेशा-रेशा बाटेर
पूजिवादले बेच्न थाल्यो
गर्धन बेर्ने डोरीहरू ।

तिमि ब्रान्डेड डोरी किन्छौ
र म कमसल 
किन्ने त मृत्यु न हो ।

चश्मा

हर मुस्कान भित्र
लुकेका छन् 
अनगिन्ति पीरहरू ।

मान्छे हाँसेको 
प्रष्ट देखिन्छ चश्माबाट ।

लुकेका व्यथा देखिने चश्मा
सायद आविष्कारै भएन ।

चन्द्रमाको आसु

चन्द्रमाको आसु बनी
उजेली थोरै खसिदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

मुहारभरी झरी पर्छ
आँखा टिलपिल भइदिदा
रसाउछ यो मनको भित्ता
एक्लै गीत गाइदिदा

जूनकिरी उड्दै-उड्दै
पर कतै विलाइदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

बाहिर फैलि दिन्छु बरै
बोल्ने कुरा अर्कै हुन्छ
भित्र थिग्रि दिन्छु कठै
मनले मनमै कुरा थुन्छ

मुकुण्डोको खेती गर्दै
मान्छे जूनी बाँचिदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

टोपी

निर्जिव हिमालले मात्र
बनेको छैन यो देश ।

खासमा बनेको छ
सजिव आत्माहरूले ।

जसरी
ढाका टोपी नै देश होइन
बरू तिम्रो शीर हो देश ।

परिचयपत्र

पासोजस्तो झुण्डिएर
दिनरात मेरो घाटिमा
यो परिचयपत्र
मसँगै माग्दैछ
मेरो परिचय ।

मान्छेको परिचय
नाम, दर्जाले मात्र
कहाँ जनाउछ र !

झुमर

झुमरका काचभरी छन्
मजदुरका चोटका राता धब्बाहरू
त्यसैले त यति मजा लिदैछ
यो सम्भ्रान्त रात ।

ऐना

घामसँग
समाजसँग
सिँगो संसारसँग
सहजै सक्छ मान्छे
आँखामा आँखा जुधाउन
मात्र
ऐनासँग सक्दैन ।

गलबन्दी

जति पटक धोएपनि
जादैन दाग
मेरो गलबन्दीबाट ।

सायद
उनीभन्दा पनि 
बढी टिकाउ रैछ
उनको ओठको लिपिस्टिक ।

चुरोट

नजिस्कनु भन्छन् मृत्युसँग 
म अबुझ
चुमिरहन्छु मृत्युलाइ ।

नपत्याए हेर
मेरो ओठको चुरोट ।

#Smoking_Kills

यि आँखाको निन्द्रा

यि आँखाको निन्द्रा ति आखाँबाट हुन्छ पुरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा

तिमी त्यहा छौ, मेरा पाइला जहा भएन
सँगै हुनुको परिभाषा के हो थाहा भएन
मलाइ त सँगै लाग्छन् रूखका पात र जरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा

चट्याङ आउदा म अहिले पनि डराउछु
तिमि सम्झि आफ्नै छायामा म हराउछु
यो झरीमा चुपचाप ओत लाग्छ मनको चरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा