बगिरहन, चलिरहन ...

नदिजस्तै जिन्दगीको दुई किनारा भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए

यादहरू, छालहरू, आइदिन्छ, गइदिन्छ
गहिराइमा मनलाइ डुबाई, बेहोशीमा लइदिन्छ
उत्रिनलाई, तैरिनलाई, कोहि सहारा भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए

आँखाहरू, साँझहरू, ढलिदिन्छ, निदाईदिन्छ
डुबाएर सपनीमा, अँधेरीमा तड्पाइदिन्छ
निदबाट ब्युझिनुछ, मेरो बिहान भइदिए
बगिरहन, चलिरहन, एक बहाना भइदिए

मुक्तक-३५

परेली बन्द हुनेछ, मन उडेर अत्तर बन्नेछ
तिम्राे नाम मुटुमा खाेपेर याे शरीर पत्थर बन्नेछ
रहिरहनेछ फूलहरू, रङहरू, यादहरू, पलहरू
म जलेपछि मात्र, मेरो जलन मत्थर बन्नेछ

मुक्तक-३४

मनकाे धुवा चीम्नी हुदै फुत्किन चाहन्छ
निष्फिक्री त्याे बादलसँग जिस्किन चाहन्छ
गुम्सीएर भित्र भित्रै कहाँ लुक्छ याे मन ?
सुरूङकाे याे यात्रा सकी निस्किन चाहन्छ

मुक्तक-३३

बादलुकाे पखेटीमा फूलकाे चित्र लेखेछु
पढ्नु, केही कुरा त्याे मनभित्र लेखेछु
सम्हाल्नु, म मुस्कानकाे एक थुङ्गा पठाउला
जहाँ-जहाँ जान्छु, एक नाम सर्वत्र लेखेछु

मुक्तक-३२

हिड्दाहिड्दै भेटियाे एउटा पत्थरकाे मन
पत्थरकै सिमाना किन कट्न सक्दैन जीवन ?
याे रातमा हराउछु र अन्तै बिहानी हुन्छु
म आँगाे लिन्छु तिमिबाट, म खरानी बन्छु

मुक्तक-३१

त्यसाे भन्दैमा तिमी न दाेधारमा आउ
बरू आउ, आउ मेराे उद्धारमा आउ
अरूबेला कहाँ यसरी दुख दिन्छु र
म घाटमा छु, आज त केही हतारमा आउ

मुक्तक-३०

म जलेकाे पल याे रात पनि जल्नेछ
चुपचाप अध्याराेमै चाँद पनि जल्नेछ
तिमी जलाउनुलाइ प्रेम भन्ठान्छाै
जति जल्छु म, याद पनि जल्नेछ

मुक्तक-२९

म पाेलीएर न आखीर सुन बनेकाे हुँ
रेटिएर न सारङ्गीकाे धुन बनेकाे हुँ
जलन अनि तड्पाइले मान्छे बन्दैछु
अध्याराेमा जल्दा जल्दै जून बनेकाे हुँ