यो साउनमा

बगैचामा लाग्यो आखिर आगो यो साउनमा
अरुले कहाँ ? फूलले नै ला'को यो साउनमा

गुँरास मात्र फूले अरु कुल्चिएथे
पैयुँ, चम्पा बने राको यो साउनमा

आफ्नै चिहानमाथी कति माला उन्ने ?
जाग्यो चिहान, टुट्यो धागो यो साउनमा

झरी पनि कतै वर्षिदिन्छ, कतै वर्षिदिन्न
त्यसै होइन काँडा तिखो भा'को यो साउनमा

झरी

जब ब्युझन्छु
जिन्दगीलाइ पछाडि फर्केर हेर्छु
जिन्दगी त नाङ्गै रुझिरहेछ झरीमा
मुस्कुराइ पनि रहेछ
सायद जिन्दगी निकै पछाडि छुटेछ ।

भिजेको पाइतलामुनि लुकाएर अतीतहरु
नाथे नोकरीको लागी
भौतारिरहेछु पशुपति मन्दिर वरिपरी
जहाँ एउटा ढुँगाको देउता छ
जो कहिल्यै रुझेन झरीमा ।

झरी र मेरो सम्बन्ध
भन्छन् जन्मदेखिकै हो
म जन्मदा
मेरी आमाको प्रसुती शरीर
झरीमै रुझ्दै–रुझ्दै
लगिएको थियो रे चतुर्भुज घाटमा
जहाँ पानी नै पानी छ
छेउको बगरमा भने
जहिल्यै आँगो दन्किन्छ
ओहो ! झरीमा पनि बल्ने आगो
अनाथ बच्चाहरु
आफ्नै आमाबुवाको चितामा जिज्ञासु नजरले हेर्छन्
जसरी मैले हेरेथे ।
(कार्तीक–०६९)