वर्षौपछि
वर्षौ वर्षौपछि
एकदिन घर बस्दा
चाल पाइन्छ
जिन्दगीको असली चाल ।
गमलाभरी फूलिसकेछन् रङ्गीबिरङ्गी फूलहरू
मगमगाउदो रैछ बारीमा लगाएको धनिया
छोरो आफुजत्तिकै अग्लो भैसकेछ
आमाको कपाल फूलिसकेछ
लट्टाइको सेतो धागोजस्तै गरी ।
न कुनै मुग्लानबाट आजै फर्केको हु
न कुनै सपनाबाट अचानक ब्युझेको हु
दिनदिनै त आउजाउ गरिरहन्छु
आफ्नै घरमा, गेस्ट हाउस जस्तो गरी ।
बल्ल बुझ्दैछु किन आउनुहुन्छ आमा,
मेरो कोठासम्म आइरन गर्ने बहानामा
किन चियाइरहनुहुन्छ बुवा, आधा खुलेको ढोकाबाट
बल्ल बुझ्दैछु
किन रिसाउछिन मेरी माया फोन नउठाएको भन्दै
किन गुनासो गर्छन् साथीहरू 'त ठूलो भइस' भनेर ।
हिड्दा हिड्दै,
दौडदा दौडदै,
बिहानदेखि बेलुकासम्म
बिर्सिसकेको रहेछु
कसका लागी हिड्दै छु
कसका लागी दौडदै छु ।
यो शहर
दौडाइरहन्छ सपनाको म्याराथोनमा
दिनदिनै मलाइ
आफ्नै आत्माबाट टाढातिर ।
वर्षौपछि
वर्षौ वर्षौपछि
एकदिन घर बस्दा
चाल पाइन्छ
जिन्दगीको असली चाल ।
0 comments (Click here to Comment):
Post a Comment