सन्तानझै समय हुर्किसक्यो
र निकै अगाडि बढिसक्यो
यो भित्तेघडि चाहि
जहाको तहि छ
वृद्वाश्रमको वृद्व जस्तो ।
अलि ढिलो गरी बल्छ
तर यसकै भर छ
यो ट्युबलाइट हो कि मेरो देश ।
सस्तो
महँगो
गरिबको
धनीको
हर एक खाटहरू
केवल चिताको पूर्वाभ्यास रहेछन् ।
प्रायः
चिटिक्क
फेसनेबल
आकर्षक
र
एक्लो हुन्छन्
ब्युटिपार्लरमा थन्किएका सोफाहरू ।
पत्थरले थिचेर
अरूसँग लुकाएर
चुपचाप राखेको छु
एउटा पुरानो प्रेमपत्र
यो छातीको अध्यारो खाेपामा ।
खुल्छ
एकछिन बन्द हुन्छ
र फेरि खुल्छ...
म एकटकले यो ढोका हेर्दैछु
मानौ म तिम्रो आँखा हेर्दैछु ।
झुलभित्रको एक्लो लामखुट्टे
बडो भाग्यमानी मान्छ आफूलाई
उसलाइ थाहा छैन कि
झुल पनि महाजाल हो
जिन्दगी जस्तै ।
मनपरी घुमिरहन्छ
र अर्कैले रोकिदिन्छ
पंखा, पंखा रहेन आज
मानौ मेरो मन भैसक्यो ।
Subscribe to:
Posts (Atom)