कालो बादल चिरेर खुल्छ रातो घाम
बढ्छौं जित भेट्न, अब लुकिन्न
मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।
गोडाहरु थाक्थे पहिला
जीवनभरका बोझहरु थाम्दा
तर कठिन गोरेटोमा पनि
आज थाकेनन्
गल्थे शरीरका त्यान्द्राहरु
अरुको लागी पसिना झार्दा
तर आज भीरपाखाँमा
लड्दालड्दै पनि गलेलन्
कुन्नी के रहस्य छ
यो शान्तिभित्रको कोलाहलको
अनौठो यात्रामा
कोही थाक्दैनन्
कहिल्यै थाक्दैनन् ।
पहिले-पहिले बगाएर
पुराना मालिकका लासहरु
मलामीहरु फर्किन्थे साँझपख
र कलेसीमा नुहाएर
सुस्ताउथे ओछ्यानमा दशकौसम्म
आज पनि फर्किए उनीहरु मलामीबाट
शाहि मलामीबाट
तर आश्चर्य !
नुहाएनन् आज
सुस्ताएनन् आज
बरु टिकट किन्दैछन् रे
राजधानी जाने बसको
मलामी बन्नु छ रे अब
सिँहदरबारको
मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।
(०७-०३-०६६)
रात कुरुप समय हो
यो चुपचाप देखिन्छ
तर रातमा सबैभन्दा बढी कोलाहल हुन्छ ।
सिमानाका बलात्कारका चित्कारहरु
जोडले सुनिन्छ रातमा
पुराना लासहरुको हुकुमे शासनको दुर्गन्ध
जोडले हुइँकिन्छ रातमा
रातमा रोबोटहरुको रिचार्ज हुन्छ
र झन शक्तिशाली हुन्छन् रिमोटवालाहरु
रातमा दाल र चामलमा बारुद मिसाउँछन्
पुराना काला व्यापारीहरु
रातमा मुस्कुराउँदै डढेलो ताप्छन्
बिर्खे साहु र मुखियाहरु
रातमा महाकाली र सुस्ता बेच्छन्
इतिहासका नपुंसकहरु
रात कालो हुन्छ
र काला दागहरु पनि अन्धकारमा हराउँछन् कतै
रात बाक्लो हुन्छ
र बाक्लो छायाँ पनि घुलमिल गर्छ फेरि त्यही रातसँग
रात बडो निर्मम हुन्छ
र चलाउँछ अन्धकारमा चक्कुहरु
रात कुटिल हुन्छ
र सुताउछ पुरानै चेतनामा संसार
तर
चट्याङका प्रहारहरुसँग डराउँछ रात
फगत एक जुनकिरीले हराउँछ रातलाई
बिहानीको उदयमा मर्छ रात
समयको सुइसँग मात खान्छ रातले
त्यसैले रातलाई पनि साथमा ल्याउँ
आखिर
रातमा उज्याला मान्छेहरु टाठ्ठै चिनिन्छन् ।
धर्ती फेरी फुल्ने गरी नागासाकी फुल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
मस्तिष्कमा राज गर्न खोज्नेहरु हेर
कालगति आफ्नो आफै रोज्नेहरु हेर
बन्दुकको गोली फेरी तिम्रोतिर चल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
अणुबम बेचिकन शान्ति सन्देश छर्छौ
सुरजको प्रकाशलाई हत्केलामा भर्छौ
हिजो बोल्न नसक्नेले आज युद्ध लड्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
तिम्रै जन तिम्रै निम्ति भारी पर्ने भए
सत्ता तिम्रो गिराउन मरी मेट्ने भए
तिम्ले आफ्ना ठान्ने पनि सत्यतिर झर् यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
धर्ती फेरी फुल्ने गरी हिरोशिमा फुल्यो
भियतनामको ज्वाला हेर इराकमा बल्यो
निकासको बाटो दिदैनौ र त बाढी आउँछ
विकासको पाटो दिदैनौ र त बाढी आउँछ
खन्नेकै आखिर हुनुपर्ने सधै यो धरती
आकाशको साटो दिदैनौ र त बाढी आउँछ
लुकाउछौ अँध्यारोमा तिमी शहिदको शिवपुरी कथा
हर सासको टाटो दिदैनौ र त बाढी आउँछ
अल्झाउछौ काढेतारको तिम्रो षड्यन्त्रमा अझै
बतासको बाटो दिदैनौ र त बाढी आउँछ
सुस्ता लुम्बिनी बेच्छौ अरे देश दुखेको बेला
इतिहासको माटो दिदैनौ र त बाढी आउँछ
०८-०२-०६५
सगरमाथा रङ्गिनेछ गुराँसको रङमा
माटो बँग्नेछ हाम्रो आफ्नै धड्कनमा
आफै बुन्छौ कंचनजङ्घा
आफै चुन्छौ स्वतन्त्रता
फिर्ता ल्याउछौ नैनीताल आँदो साउनमा
माटो बँग्नेछ हाम्रो आफ्नै धड्कनमा
सुस्ता-काली गर्जीदिन्छ
कालापानी उर्लीदिन्छ
कागँडा र टिस्टा हाँस्दा मेरै आँगनमा
माटो बँग्नेछ हाम्रो आफ्नै धड्कनमा
०६५-११-२८
रातो मसी चोपेर
ईतिहासले आफ्ना सम्पुर्ण कलंक मेटेर
सेतो कागजमा यसपाली
साच्चीकैको पहिलो कविता कोर्दैछ
उल्टरी जन्मीएर उल्टरी दुनिया हेर्नेहरुले
हिटलरको लठ्ठी टेक्दै गरेको बेला
जङ्गबहादुरको सडेको लाश खोजेर
छिनीएको गर्धनमा बर्दीको ट्याग जोड्ने
कुचेष्टा गर्दै गरेको बेला
महान समयले आफ्नो अन्तिम कर्तव्य पुरा गर्दैछ
र
रातो मसी चोपेर
ईतिहासले आफ्ना सम्पुर्ण कलंक मेटेर
सेतो कागजमा यसपाली
साच्चीकैको पहिलो कविता कोर्दैछ
भ्रमका चिठ्ठाहरु नोटफ्याक्ट्रीमा जन्मीदै गरेको बेला
संविधानका खोस्टाहरु शितलनिवासका जेबबाट
चेक काटिएसरी काटिदै गरेको बेला
तपाईको लामो आयुको सर्टिफिकेट
विदेशी लाहाछाप लाएर छोट्याईदै गरेको बेला
र झिगाँको एक हुल पुरानै कुर्सीमा
फुल जन्माउने दाउमा देखिदै गरेको बेला
सिँगो आकाश जुर्मुराउदै अब नयाँ युग लेख्दैछ
र
रातो मसी चोपेर
ईतिहासले आफ्ना सम्पुर्ण कलंक मेटेर
सेतो कागजमा यसपाली
साच्चीकैको पहिलो कविता कोर्दैछ
प्लेटमा मान्छेका करङ साधेर खानेहरुले
नक्साका साँघुरा गल्लीहरु पनि भत्काउदै गरेको बेला
अधबैसमा बौलाएका पुराना पुरोहितहरु
गँगा र पाचामृतमा भुल्दै गरेको बेला
सुनिन्छ बेखबर भनिएको संमुद्र
अब लामो प्रसवपिडापछि नयाँ सगरमाथा जन्माउदैछ
र
रातो मसी चोपेर
ईतिहासले आफ्ना सम्पुर्ण कलंक मेटेर
सेतो कागजमा यसपाली
साच्चीकैको पहिलो कविता कोर्दैछ
तर ईतिहासले कलमले मात्र कविता कोर्छ भनेर ठोकुवा गर्नु
मुख्र्याई हुनेछ ।
०६६-०१-२३
सन्ध्या पछिको रातमा
गुँडहरु कठ्याङ्ग्रीए झै
कति रातहरुमा कविता
आगोबिना जाँगै बस्यो होला
कति रातहरुमा कविता
चीसो सिरेटोमा खस्यो होला
भ्रुण कविताका गरम खल्तीहरु
कैयौ पटक वेश्यालयमा पनि छिरे भन्छन्
शब्दकविताका बाढीहरुले
कैयौ चोटी लामै भ्रम छरे भन्छन्
तर धेरै अनुसन्धानको निष्कर्षमा
एउटै कुरा साझा बन्यो
अब कविताहरुको दस्तुर बुच्चर शाखाले लिनेछ
र प्रत्यक कविताहरुले गुलाबी स्काफ
अनिवार्य रुपले लगाउनुपर्नेछ
अनी त्यसैले होला अचेल
कुटोमा रगत चुहाउने बुढीले पनि गुलाबी स्काफ लगाउछिन
डोकोमा ढाड कुहाउने अधबैसेले पनि गुलाबी स्काफ लगाउछिन
फुलको महिमामा गीत लेख्ने कवियत्रीले पनि गुलाबी स्काफ लगाउछिन
मन्दिरका ढोङ्गी ढुँगाहरुकी हितैषीले पनि गुलाबी स्काफ लगाउछिन
चोक-चोकमा सालीकलाई गुलाबी स्काफ लगाइन्छ अचेल
फुटपातका अल्लारेहरुलाई पनि गुलाबी स्काफ भिराइन्छ अचेल
सिंहदरबार, सिँगो घरबार र नाँगो तरवार
गुलाबी स्काफमै सुरक्षित छ रे
र्णाली, वादी र जनजातीले
गुलाबी स्काफमै भाग्य कोरेको हो रे
भनिन्छ शताब्दीकै महान रचना हो गुलाबी स्काफ
साझा युगीन सपना हो गुलाबी स्काफ
तर यी को पागल कविताहरु हुन सडकमा
गुलाबी स्काफ बेगर ?
के यीनीहरुलाई थाहा छैन ?
अब कविताहरुको दस्तुर बुच्चर शाखाले लिनेछ
र प्रत्यक कविताहरुले गुलाबी स्काफ अनिवार्य रुपले लगाउनुपर्नेछ ।
All the contents of this blog are written/created by Amish Sharma 'Bishad'. Unauthorized copying or publishing of any portion or the entirety of this blog's content is prohibited and subject to legal consequences.
© [2009] [Amish Sharma 'Bishad']. All rights reserved.