ताराहरु जाग

Source: http://blogbishad.blogspot.com
पूर्णेको जून मलाई मन पर्दैन
सयौ ताराहरु यसले लुप्त गराएको छ
यसको उज्यालो बढी चहकिलो भएजस्तो भान पार्छ
तर जूनसँग आफ्नो प्रकाश छैन
त्यसैले मलाई पूर्णेको जून मन पर्दैन
किनकी ताराहरु जोसँग आफ्नो प्रकाश छ
कहि हराएजस्तो लाग्छ
कहि बिलाएजस्तो लाग्छ

जून स्वार्थी छ
टाढा टाढासम्म यसले किरण छर्दैन
जूनले पृथ्वीलाई मात्र आफ्नो ठान्दछ
त्यसैले मलाई पूर्णेको जून मन पर्दैन
ताराहरु वास्तवमा शक्तिशाली हुन्छन
सयौ ताराहरु अझ शक्तिशाली हुन्छन
जब जब ब्रम्हाण्डमा जूनहरु उदाउछन्
एकदिन एकादेशको इतिहासको खोक्रो बट्टाभित्र
आफ्नो अस्थिपाजर भेट्न पुग्छन्
त्यसैले ताराहरु
तिमीहरु ननिदाउ
यो पूर्णिमा सदा सदाका लागी समाप्त गर्न
ताराहरु जाग
धेरै ताराहरु जाग
सयौ हजारौ लाखौ ताराहरु जाग

०६३
नवयुवा पूर्णाङ्क ११६, ०६४ जेठ

ईश्वर

Source: http://blogbishad.blogspot.com
धमीराका बस्तीहरुमा
म दिउसै लाल्टीन बालेर
ईश्वर खोज्न हिड्थे
तर अहिले म ईश्वरबाट बच्न
लाल्टीन निभाउदैछु
मेरा अङ्ग अङ्गका सतहहरुमा
नचिनिदो लेप लगाएर लुक्दैछु ।

कहिले बाढी बनेर मेरा बाली सिध्याउन
कहिले किरण बनेर छाला डढाउन
कहिले छाल बनेर घर भत्काउन
ईश्वर मेरो पिछा गरिरहेछ
मेरा बाहुमा अनेकौ रत्न छरिएको छ
सायद पछिल्तीर तरवार होला
मेरा कानहरु मन्त्ररुपी ध्वनीबाट
बुझिने कोसीस हुदैछ
मेरा आखुाहरुमा दृश्य छलिदैछन्
मेरा ओठहरु पशुआशनमा आराम लिदैछन्
अह ! म फस्दैछु भासिदैछु ।

ईश्वर मेरो शत्रु हो
ऊ मलाई दास बनाउन खोज्दैछ
यँहा भोकबिनाका मूर्तीहरु ईश्वर मानिन्छन्
म मूर्तीहरु ढाल्न आउदैछु
सायद सडकमा पहिल्यै कोही पुगीसकेको छ
सायद कोही आउदैछ ।
०६३