हल्का हावा बेइमान हुदैन
बताँसको भने इमान हुदैन
व्यर्थ छ पाप पछिको चित्कार
हुरीको कुनै कान हुदैन
के बँच्ला तिम्रो लुटको स्वर्ग ?
आँधि-बेरीको ठेगान हुदैन
डराओस पनि आखिर किन ?
सिरेटोको जहान हुदैन
लुकोस वैरी जहाकतै
भुमरी कहिल्यै अञ्जान हुदैन
थाक्दैन कहिल्यै, दौडिन्छ सधै
तुफान सुत्ने सिरान हुदैन
आफ्नो संसार बनाउँछ आफै
सुनामि-युगमा भगवान हुदैन
जसो जसो गान्धि भन्छ
उसो उसो बुद्ध गर्छ |
गान्धि बुइँ चढा भन्छ
बुद्ध गान्धिलाई पिठ्युमा बोक्छ |
गान्धि झुकेर बस् भन्छ
बुद्ध झन् सुतेर नमस्ते गर्छ |
गान्धि खोलो मेरो भो भन्छ
बुद्ध नदीहरु नै पठाइदिन्छ |
गान्धि माटो चाहियो भन्छ
बुद्ध पुरै कान्ला दिन्छ |
आखीर गान्धि मालिक बन्छ
बुद्ध सधै 'जी हजुर' गर्छ |
साच्चै !
कति हिँस्रक छन्
यी आधुनिक बुद्ध अनि गान्धिहरु |
(26-09-066)
म काला भर्याङ्हरुमा
छिटो छिटो दौडिने गर्थे
म रात परेको मौकामा
जोडसँग उफ्रिने गर्थे
तर
मेरा जोर खुट्टाहरु अचेल
टेर्न छोड्दैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि
मेरो मालिकको आदेश छ-
फाटेको जामा भेट्यो भने
तेजाब छर्कनु
कोदालीको भिडँभाडँमा
अगुल्टो हिर्काउनु
बुढी आमैले होस्
या दुधे बालकले होस्
ताराको कथा भन्नेबित्तिकै
उल्काहरु ओकलेर झर्कनु
तर
मेरा खुट्टाहरु अचेल
गुलामीको भारी बोकेर
खेतहरुमा जान मान्दैनन्
ताराको कथा अब
टाढाको कथा हो
भनेर पनि भन्दैनन्
अनि यी खुट्टाहरु हाँसी हाँसी
दिनहुँ निहुराउदैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि
सडकभरी हत्केलाका
कविताहरु जन्मदैछन्
हत्कडीको ताण्डव नाँच्न
धेरै ढिला भैसक्यो
लाखौ मान्छे उज्यालाका
गीत गुन्गुनाउदैछन्
अध्यारोको पसल थाप्न
निकै अबेर भैसक्यो
मैले डाडाँमाथीका खोल्साहरुबाट
हिजै खोलाहरुको लाश
दख्खिनतिर बगाँईसक्नुपर्ने
मैले साल, सिसौ अनि दाइरोहरुमा
अघिनै सर्पहरु लुकाईसक्नुपर्ने
तर
मेरा खुट्टाहरु अचेल
मुक्ति खोज्छन् मसँग
अनि उल्टै ब्युझाँउदैछन् मलाई
र अन्ततः बनेको छु म
मेरो ख्वामितको
एक लङ्गडो सिपाहि
(०७-०९-०६६)
घरेलु बौलाहा गोरुहरु
चुपचाप घाँम ताप्छन्
सिमापारी गएर
र
एउटा विदेशी दुम्सी ओर्लीन्छ वारी
भाँदगाउले श्रीपेच लगाएर ।
दुम्सीले कानमा लालीगुँरास सिउरिन्छ
सधै दौरा-सुरुवालमा सजिन्छ
र
साँझ पर्ने बित्तिकै
उसकै हातबाट
हाम्रो सर्वोच्चता छिनिन्छ ।
ऊ पटुकी लगाउछ
ऊ लोकभाका गुन्गुनाउछ
र
खोल्सो देख्ने बित्तिकै
ऊ हाम्रो माटो
दख्खिनतिर बगाँउछ ।
ऊ संवेदना किन्छ
ऊ आश्वासन दिन्छ
र
उसकै पसलबाट दिउसै
अन्धकार बेचिन्छ ।
ऊ प्रजातन्त्र सुनाउछ
ऊ मानवअधिकार पढाउछ
र
जाडोमा आँगो ताप्छु भन्दै
ऊ हाम्रै छाप्रोहरु जलाउछ ।
ऊ शान्ति चाहिन्छ भन्छ
ऊ आफै शान्तिको घाँटी निमोठ्छ
र
फहराएर उसको तिनरंगे झण्डा
ऊ बन्दुके शासनको अधिकारी बन्छ ।
बनाऔं अब कानुन हामी
विदेशी दुम्सी मार्न मिल्ने
बनाऔं अब संविधान हामी
स्वदेशी बौलाहा गोरु काट्न मिल्ने
बनाऔं हाम्रो छाप्रो फेरि
टालौ चुहिने छानाहरु
खोलौ अब दुम्सी अनि
बौलाहा गोरुका बुच्चरखानाहरु ।
(३०-०८-०६६)
यो समय
पछुतो मान्दै गुफामा
डाँको छोडेर रुदैछ भन्छौ तिमी
म यो समयले
अर्को योजना बुन्दै गरेको देख्छु ।
यो समय
आफ्नै पासोमा अल्झिएर
मृत्युवरण गर्दैछ भन्छौ तिमी
म यो समयले
ज्यानमाराहरुलाई पासो चढाउदै गरेको देख्छु ।
यो समय
अश्लील भेषमा डुबुल्की मार्दै
समुंद्रमुनी सुत्दैछ भन्छौ तिमी
म यो समयले
अर्को ज्वारभाटा बोलाउदै गरेको देख्छु ।
यो समय
सिहदरबारमा सेता कल्कीहरु चढाएर
फेरि राज्यारोहण गर्दैछ भन्छौ तिमी
म यो समयले
नाजायज कोठीहरुमा अन्तिम धावा बोल्दै गरेको देख्छु ।
यो समय
अर्थात
तिम्रो हिजोको अन्तिम समय
अनि मेरो भोलीको पहिलो समय ।
आँखामा दली हिलोको देउता नाँच्छन् मान्छे कठैबरी !
त्रिशुल रोपी चेतनामा बाँच्छन् मान्छे कठैबरी !
अध्यारा मगजहरु मिली उज्याला घाम मार्छन् यहाँ
आफ्नै मृत्यु देखी-देखी हाँस्छन् मान्छे कठैबरी !
सभ्यतामा पर्दा हाल्न टपरीमा धुवाँ बाल्छन्
तुवालोमा सपनाहरु भाच्छन् मान्छे कठैबरी !
एक आत्मालाई बचाउनलाई कति आँखा रुवाउछौ खै ?
स्वर्ग पाउन स्वर्गीम जीवन ताच्छन् मान्छे कठैबरी !
पुराण, कुरान, बाइबल अनि त्रिपिटकमा आगो लगाऊ
युगौ पुराना डङ्गुर किन साँच्छन् मान्छे कठैबरी !
सल्बलाउछन् छातीभित्र सपनाका रासहरु
उदाउछन् बिहानीमा उज्यालाका आशहरु
फाटेको यो फरियाले के बित्ला र सिंगो जिवन ?
मुटु काँप्छ जसै साँझ रित्ता हुन्छन् गाँसहरु
हसियाँको कोलाहलमा रगत छट्पटाउछ सधै
चिथोरिन्छन् जब आशु राता हुन्छन् घाँसहरु
बिछ्यौनामै जून पनि रोइरहे जस्तै लाग्छ
किन देख्छु सधै राती ताराका यी लाशहरु ?
आशु पुछि अब कोर्छु मेरै हसियाको कथा
अनि लेख्छु किन बन्छन् मालिक अनि दासहरु ?