म आए


मनका ए रहरहरु ! ननिदाउ म आए
अध्यारोलाई ए उज्यालो ! नजिताउ म आए

यै प्रहरको पर्खाइमा हिमाल पँग्ले कति
पाखुरी हो ! जोशहरु नसिध्याउ म आए

कालो छाँया मुर्मुरिन्छ बन्द कोठाभित्र
झुठो डरमा भो ए मुटु ! नचिच्याउ म आए

चुप्प लाग्छ ढुँगामाटो पहिरो जानुअघि
पर्ख अझै यति छिट्टै नबताउ म आए
(२०-०२-०६७)

बज्यैँ

SOURCE: http://www.blogbishad.blogspot.com

पोल्टोभरी घाम कुरी बसेकीथिन् बज्यैँ
कुर्दाकुर्दै डिलबाटै खसेकिथिन् बज्यैँ

धमिला ती आँखाहरु रहर मिठा पाल्थे
रहरको रहभित्र पसेकीथिन् बज्यैँ

पाँखाबारी उमार्ने नै उनको देउता थियो
कुटोसँगै मुठ्ठी पनि कसेकीथिन् बज्यैँ

उनी सोच्थिन् आकाश खुली खुशी दिई जाला
धर्ती चुस्ने छाँया कति डसेकीथिन् बज्यैँ
( 03-02-067)

सारस र हामी

सारसहरु हवाईजहाज चढेर आउछन्
अथवा खतरा अंकित ट्रकभित्र
लुकेर पनि आउन सक्छन्
सारसहरु मित्र बनेर आउछन्
अथवा गुपचुप रुपमा
जासुस बनेर पनि आउन सक्छन्
र पनि हामी बुद्धुहरु
सधै जपिरहन्छौं
'अतिथी देवो भवः'
थुक्कः हामीहरु !

सारसका पंजाहरुमा
यो देशको भत्किएको नक्सा देख्न पाइन्छ
सारसका ठुँडहरुमा
यो देशको छोटो आयु पढ्न पाइन्छ
र पनि हामी लाटाहरु
साट्छौं आफ्नो माटोको पुख्र्यौली कोट
सारसको भ्रमविद्याको नयाँ पुस्तकसित
थुक्कः हामीहरु !

सारसहरु निष्फिक्री छिर्छन्
सिँहदरबारभित्र
र आफ्ना उत्तराधिकारी छान्छन्
सारसहरु खुल्लमखुल्ला पुग्छन्
सैन्य-पर्खालभित्र
र आफ्ना दासहरु बढाउछन्
र पनि हामी अन्धभक्तहरु
पुज्छौं सारसलाई
र नयाँ ईश्वर बनाउछौं
थुक्कः हामीहरु !

सारसका आदेशमा तेर्सिन्छन्
आफ्नै बन्दुक आफ्नै सगरमाथातिर
सारसका आदेशमा ठोकिन्छन्
आफ्नै मृत्युपत्रमा हस्ताक्षर
र पनि हामी अमानवहरु
बाँच्छौं सारसको पाउमुनी
मर्छौ सारसको पाउ परी
थुक्कः हामीहरु !

यो देश
यो शहर
यो समय
सारसको मुठ्ठीमा परेको छ
र सडकहरु निरन्तर उत्रीरहेछन् प्रतिरोधमा
र पनि हामी शहरका मान्छेहरु
अझै बनेका छैनौ
सडकझैं गतिशील
थुक्कः हामीहरु !
(०१-०२-०६७)

यतिखेरको राजधानि

जब बेस्सरी कम्पन हुन्छ टेबल,
झुठको भारी थाम्न नसकेर
पुरानो पत्रिकाको सम्पादक
झुठ लेख्न डराउँछ |

जब मध्यरातमा
बल्दै-निभ्दै गर्छ
चम्चमाउदो झुमरको मधुरो प्रकाश
राजधानीको रातव्यापारी
टक्क रोकिन्छ फोनमा कुरा गर्दागर्दै
र ट्वाल्ल परेर हेरिरहन्छ
घण्टौसम्म झुमरमा |

जप ब्ल्याकबोर्डको मानचित्र सच्याएर
गर्वका साथ ठडिन्छ फुच्चे विध्यार्थी
राजधानीको तलबी शिक्षक
हात कमाउदै, शीर निहुराउदै
बाहिरिन्छ |

जब धानको तौल जोख्न
राजधानी भित्रिएको गाउले किसान
आफै बोक्दछ सहि-सहि ढकहरु
पसीना पुछ्न थाल्छ
सिँहदरबारको भ्रष्ट कर्मचारी |

जब लामबद्ध पर्खाल बनेर
मुस्कुराउछन राजधानीका लाखौँ नाङ्गा ढाडहरु
बन्दुकधारी तर्सीन्छ
ढाडमा आफ्नै प्रतिविम्व देखेर |

राजधानीमा केवल
प्रदुषण मात्र बढेको छ भन्ने नठान
राजधानीको पैतालादेखी टुप्पीसम्म तापक्रम बढेको छ यतिखेर |
(12-01-067)

टुँडिखेल


सबेरै गाँडेर शिवपुरीमा
मेरो आफ्नै चेतना
फर्किएर गर्छु म लेफ्ट-राइट
यो चिहानी चौरमा
उफ ! यो टुँडिखेलमा


मेरै दाईको छाला उघार्नेहरुले
थमाइदिन्छन् मलाई
त्यहि छालाको बन्दुक

मेरै दिदीको मासु बेच्नेहरुले
लगाईदिन्छन् मलाई
त्यहि मासुको कम्ब्याट
तिनीहरुको आदेशमा
ताक्नुपर्छ मैले
मेरै सहिदमंचको नझुकेको शीर
र फ्याक्नुपर्छ मैले ग्रीनेट
मेरै आस्थाको धरहरातिर
आफ्नै मस्तिष्क बन्धक राखी
उपिुरन्छु म यो धरापी चौरमा
उफ ! यो टुँडिखेलमा

तिम्रो पर्चा बटुलेर
मैले बुटले कुल्चनुपर्छ,
कुल्चने गर्छु
रातो झण्डा उघारेर
छाप्रोहरुमा आगो सल्काउनुपर्छ,
सल्काउने गर्छु
तिम्रो आवाजले
मेरो मुटु हल्लिनुहुदैन
तर हल्लिन्छ अचेल
तिम्रो कुराले
मेरो आँखा तिर्मिराउनुहुदैन
तर तिर्मिराउछ अचेल
लाग्छ अट्दैन म बिस्तारै-बिस्तारै
यो रवाफि चौरमा
उफ ! यो टुँडिखेलमा

कसरी यति सजिलै बताउन सक्छौ तिमी-
यो सैनिकमंचको हुकुमे-कथा
कसरी यति सजिलै गुन्गुनाउछौ तिमी-
मेरो बन्दुकको थकित व्यथा
कसरी पत्ता लागाउछौ तिमी-
बेचिएको माटोको सहि-सहि मात्रा
कसरी छुट्याउछौ तिमी-
मेरो हात र आँखामा भिन्नता
सयौं हजारौं प्रश्नहरुको
लाग्छ भकारी छ यो चौरमा
उफ ! यो टुँडिखेलमा

किन देख्छु म अचेल
यो परेडलाइनभन्दा धेरै भिन्न आफुलाई ?
किन मन पराउछु म अचेल
यो घोडेलगामबाट मुक्त भएको सपना ?
किन फर्काउछु म
सहिदमंच ताकिरहेको
मेरो निकै पुरानो राइफल
खुला आकाशतिर अचेल ?
अनि किन पट्काउछु
एक सलामि त्यसै
आफैले मारेको सहिदको नाममा ?
अनि फेरी किन मोड्छु म त्यहि राइफल
सैनिक-मंचको कालो गर्धनतिर ?
आफैसँग निकै लामो
द्धन्द जारी छ यो चौरमा
उफ ! यो टुँडिखेलमा
(०७-१२-२०६६)

नलुक है नरुक है...

बगँर छोडी नदीसँगै बढ्नेगरी आउ
नलुक है, नरुक है, लड्नेगरी आउ
आउ यो माटोको फेरौं कहानी

असीनाको भारी हुन्छ
हुन्छ, परेशानी हुन्छ
युगको सबै अध्यारोलाई लखेट्ने गरी आउ
नलुक है, नरुक है, ड्नेगरी आउ
आउ यो समयको तोडौं गुलामी

औसीको सत्ता आजै ढालौं
रातो झण्डा, रगतले टालौं
आरीमाथी पैतालाले हिड्नेगरी आउ
नलुक है, नरुक है, लड्नेगरी आउ
आउ यो इतिहासको बनौं मलामी
(२२-११-०६६)

जाली तिलहरीहरु !


उड्न देउ दिदी मनभित्रका चरीहरु
उडाइदेऊ अब जाली तिलहरीहरु

फरियामा आशु पोखी
धमिलिन्छ्यौ किन ?
सिन्दुरमा जीवन जोखी
बली दिन्छ्यौ किन ?
जन्माउ न फेरी, शिखर चुम्ने परीहरु
उडाइदेऊ अब जाली तिलहरीहरु

जून टेक्छिन दैलोनिर
मात्र आवाज दिइहेर
धरती झुक्छिन तिमीतिर
लाचारीलाई छोडिहेर
हेर आकाश, फेर आकाश, ए ! नवनारीहरु
उडाइदेऊ अब जाली तिलहरीहरु

आइज जिन्दगी


आइज जिन्दगी बात गरौं
त र म नयाँ जात छरौं

पोख्दिन म आशु, नरोइदे त
पिडामाथी प्रतिघात गरौं

हुर्याउनैपर्छ कठ्याङ्ग्रिदो जाडो
तुफानी नदी एकसाथ तरौं

फष्टाउदैछ हेपाहा संसार
यो संसारको जाली माथ फोरौं

जन्माउनुछ मुस्कानको एक देश
आजै हो अहिल्यै यो रात चोरौं
(माघ १६, २०६६)