यतिखेरको राजधानि

जब बेस्सरी कम्पन हुन्छ टेबल,
झुठको भारी थाम्न नसकेर
पुरानो पत्रिकाको सम्पादक
झुठ लेख्न डराउँछ |

जब मध्यरातमा
बल्दै-निभ्दै गर्छ
चम्चमाउदो झुमरको मधुरो प्रकाश
राजधानीको रातव्यापारी
टक्क रोकिन्छ फोनमा कुरा गर्दागर्दै
र ट्वाल्ल परेर हेरिरहन्छ
घण्टौसम्म झुमरमा |

जप ब्ल्याकबोर्डको मानचित्र सच्याएर
गर्वका साथ ठडिन्छ फुच्चे विध्यार्थी
राजधानीको तलबी शिक्षक
हात कमाउदै, शीर निहुराउदै
बाहिरिन्छ |

जब धानको तौल जोख्न
राजधानी भित्रिएको गाउले किसान
आफै बोक्दछ सहि-सहि ढकहरु
पसीना पुछ्न थाल्छ
सिँहदरबारको भ्रष्ट कर्मचारी |

जब लामबद्ध पर्खाल बनेर
मुस्कुराउछन राजधानीका लाखौँ नाङ्गा ढाडहरु
बन्दुकधारी तर्सीन्छ
ढाडमा आफ्नै प्रतिविम्व देखेर |

राजधानीमा केवल
प्रदुषण मात्र बढेको छ भन्ने नठान
राजधानीको पैतालादेखी टुप्पीसम्म तापक्रम बढेको छ यतिखेर |
(12-01-067)

0 comments (Click here to Comment):

Post a Comment