खालीपन

भित्तामा मजस्तै देखिने ऐना छ

मनजस्तै जलिबस्ने बल्ब छ
सपनाजस्तै झुण्डीरहेका 
केही पेन्टिङहरू छन्
र छ एउटा एक्लो खाली फ्रेम ।

त्यो फ्रेममा नटाँगिएको
तिम्रो फोटोले बोलाइरहेछ ।

+
टेबलमा बाँसी किताबहरू छन्
नक्कली फूल राख्ने फूलदानी छ
पानीको तीर्खा कुरिरहेको
नया बोतल छ
र छ लेखिन बाकी 
केही खाली पाना ।

ती पानामा नलेखिएको
कुनै कथाले झस्काइरहेछ ।

+
ओछ्यानमा अनिदो सिरानी छ
निर्जिव मोबाइल छ
यादहरूको धुँवाले बनेको
गर्हुँगो ब्ल्याङ्केट छ
र छ एउटा खाली-खाली मन।

यो मनभित्र बनिरहेको
खालीपनले सताइरहेछ ।

नपर्दा सम्म मायामा

म ज्युनुको बहाना
म चल्नुको सहारा
मेरो आकाशको तारा
मेरो नदीको किनारा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म मायामा ।
……………………………

जे पर्छ जिवनमा
मात्र तिमि यो मनमा
आदि-अन्त्य तिमि नै
तिमि मेरो हरपलमा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म प्रेममा ।
……………………………

देख्छु सपनि जति म
निदाउछु तिम्रो छातीमा
दिन, रात, साँझमा
जिन्दगी बितोस् साथमा

यस्ता शब्द गफ लाग्थे
नपर्दा सम्म पिरतीमा ।

Source: Alag Studio

मनको आकाशगंगा

समय शरणार्थी हुदैन कसैको
जाबो पृथ्वी, आकाशै खसे पो
म हराइरहन्छु
यो मनको आकाशगंगामा ।

ब्रम्हाण्ड मानौ टुक्रा मुटुको
भारी हो यो मेरै पिठ्युँको
म अडिरहन्छु
यो मनको अन्तरिक्षमा ।

इच्छा-आकांक्षा पोख्न सके पो
आसुको रहमा डुब्न सके पो
म तैरिरहन्छु
यो मनको समुंद्रमा ।

झरी

यादको झरीमा भिझेपछि थाहा भो
मायाको छाता त
बिनासित्ति लुकाएर राखेछु
दिलको बन्द अलमारीमा ।

पोछा

जुग पुरानो चलनचल्तीको बाल्टीन
फुटेपनि फालिएको छैन ।

यो पुरानो बाल्टीन
भरिएको छ
पोछाको पसिनाले
पोछाको आसुले ।

यहि बाल्टिनभित्र
चोबिन्छ पोछा
निचोरिन्छ उसको जेलिएको लट्टा
र निल्न लगाइन्छ 
संसारभरको दाग-मैलो ।

भविष्यझै अध्यारा घरका 
कुना-कुनामा घस्रिदा-घस्रिदै
गलिसक्यो उनको फलामको ढाड
र सुन्नुपर्छ- "चाडै बुढी भएछौ" ।

दागै-दागको भुइँमाथी 
गर्दै ओहोर-दोहोर
परिसक्यो अनुहारमै पोते
र सुन्नुपर्छ- "कति गर्छौ मेक-अप ?"

म व्याकरण नहेरिकनै भन्न सक्छु
'पोछा' स्त्रीलिङ्ग शब्द हो ।

(साभार: 
https://sahityapost.com/2020/06/9996/ )

पर्दा भित्र, पर्दा बाहिर
उजेली र रात
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद 

सम्झनाको लुकामारी
एक्लोपनलाइ एक्लै पारी
ढोका बाहिर, ढोका भित्र
आफ्नै हुन्छ साथ
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद 

कुर्दाकुर्दै फुल्यो धुपी
अँगालोमा आफ्नै लुकी
दैलो भित्र, दैलो बाहिर
चियाउछ चाँद
आँखा भित्र, आँखा बाहिर
डुलि बस्छ याद

आफू

हरदिन कामबाट फर्किएपछि
भनु न आफैलाइ स्याबास
मारू न आफैलाइ धाप ।

दिनभर खियाएपछि नङ्ग्रा
राखु न आफ्नै हातमाथी हात
चुमु न आफ्ना अौलाहरू ।

जिन्दगीमा
गरू न आफूलाइ पनि माया
तब पो बाड्न सकिन्छ अरूलाइ ।