पोछा

जुग पुरानो चलनचल्तीको बाल्टीन
फुटेपनि फालिएको छैन ।

यो पुरानो बाल्टीन
भरिएको छ
पोछाको पसिनाले
पोछाको आसुले ।

यहि बाल्टिनभित्र
चोबिन्छ पोछा
निचोरिन्छ उसको जेलिएको लट्टा
र निल्न लगाइन्छ 
संसारभरको दाग-मैलो ।

भविष्यझै अध्यारा घरका 
कुना-कुनामा घस्रिदा-घस्रिदै
गलिसक्यो उनको फलामको ढाड
र सुन्नुपर्छ- "चाडै बुढी भएछौ" ।

दागै-दागको भुइँमाथी 
गर्दै ओहोर-दोहोर
परिसक्यो अनुहारमै पोते
र सुन्नुपर्छ- "कति गर्छौ मेक-अप ?"

म व्याकरण नहेरिकनै भन्न सक्छु
'पोछा' स्त्रीलिङ्ग शब्द हो ।

(साभार: 
https://sahityapost.com/2020/06/9996/ )

0 comments (Click here to Comment):

Post a Comment