खुशी

सबै छलकपटभन्दा पर
सबै मुकुण्डाेहरूभन्दा पर
जीवन बग्दैछ भने
बाँच्दैछौ सही मानेमा  ।

घाँस काट्दाकाट्दै
फाइल बाेक्दाबाेक्दै
मजदुरी गर्दागर्दै
यसै हिड्दाहिड्दै
फक्रिन देउ ओठ
र थपिदेउ एउटा अबाेध मुस्कान
बिना कुनै कारण
बिना कुनै प्रशङ्ग 
हर गुनासोहरू भन्दा पर
हर आग्रहहरू भन्दा पर
जीवन बग्दैछ भने
बाँच्दैछौ सही मानेमा  ।

चाैरहरूमा दुबाे सँगसँगै
हाँगाहरूमा पालुवा सँगसँगै
पलाउछ हरक्षण खुशी
मात्र मुस्कुराएर हेर ।

खुशी हुनु न जीवन हुनु हाे  ।

यो झरी

यो झरी किन यति रिसाएको छ
सायद मेरो आँखा थप रसाएको छ

मनभित्र अध्यारो के गुफा होला
गहिरोगरी मुटुमा घर बनाएको छ

रहस्यहरू काँडा बनी घोचिरहन्छन्
हरबखत मलाई अचेत बनाएको छ

भविष्यले सायद देला उत्तरहरू
वर्तमानले प्रश्नै-प्रश्न तेर्साएको छ

गम्भीर लाग्थे आफ्ना सपना साथी
सपनाले आज बहुत हसाँएको छ

बाँच्नुछ अझै कति, अझै कति रमाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

शितलताको झरी छर्यौ
पत्थर थिए, देउता भए
मुस्कानको बत्ती बाल्यौ
अध्यारोमा झिलमिल बले
जिस्किएरै तिम्रो हात सधैभरी समाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

चरीजस्तै आकाशमुनी
सँगै धर्तीमाथी हामी
सयौ वर्ष, जुनी-जुनी
सधै जीवनसाथी हामी
इन्द्रेणीझै सपना छ, हर रङले सजाउनुछ
हरेक दिन तिम्रो मन सिउदोजस्तै रङ्गाउनुछ

यो मनको तन्नामा

यो मनको तन्नामा अक्सर निदाउछु
म जे होइन त्यहि बताउछु

न हिजोको सम्झना, न बिहानी याद छ 
बस् छ जिन्दगी, रात-रातभर जाग्छ
कल्पनामा डुब्छु, धुँवामा हराउछु
म जे होइन त्यहि बताउछु

हत्केलामा खुशी अडेझै बस्छ
झन् बढी कस्छु, झन् बढी खस्छ
खै के-के अँगाल्छु, केसँग डराउछु 
म जे होइन त्यहि बताउछु

आफै-आफै

मेरो मान्छे छ आज टाढा कतै
मेरो नि दोष छ आधा जति

पाइलाहरू बढ्छन् आफै-आफै
म यात्रा रोजु-नरोजु
भेट्नेहरू भेट्छन् आफै-आफै
मनबाट खोजु-नखोजु

तिमि मबाट पर जादा उतै
मेरो नि दोष छ आधा जति

दुरी पो बढ्यो कि आफै-आफै
म तिमिलाइ सोधु-नसोधु
विश्वास ढल्यो कि आफै-आफै
म तिमिसँग बोलु-नबोलु

आज बुझे एक्लो हुँदा यतै
मेरो नि दोष छ आधा जति

मनको स्वरूप

न कसैले चित्रमा उतार्न सक्यो
न कसैले शब्दमा सार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

छालजस्तो आउछ, जान्छ, पानी त होइन
जताततै उडिरहन्छ, यो हुरी त होइन
न कसैले रहस्य उघार्न सक्यो
न कसैले मनलाइ मार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

कति चोटहरू दिन्छ, खुकुरी त होइन
कति चोटहरू लिन्छ, अचानो त होइन
न कसैले वशमा पार्न सक्यो
न कसैले नाता टार्न सक्यो
यो मनको स्वरूप के हो
यो मनको रूप के हो

मुक्तक-३६

रात सुन्दर हुन त्यहा तारा जलेकाे हुन्छ
फूल मुस्कुराउछ जब हुरी चलेकाे हुन्छ
ढुँगादिलकाे भएपनि, मान्छे न हु म पनि
सुन्दर ताजमहल पनि पत्थरले बनेकाे हुन्छ

केहि आज, केहि भोली

पाउनुछ, गुमाउनुछ, केहि आज, केहि भोली
सबको मुल्य चुकाउनुछ, केहि आज, केहि भोली

दागहरू बाडिसक्यो समयले सबको भागमा
अलि-अलि लुकाउनुछ, केहि आज, केहि भोली

चोट पर्दा, याद बढ्दा, जे गर्दा, मन दुख्छ
मनलाइ अझै सताउनुछ, केहि आज, केहि भोली

आकाशमाथी, आकाशमुनि, म नै त हुँ, जता पनि
यहि झुट बताउनुछ, केहि आज, केहि भोली

जताततै भौतारेर आखीर मैले 'म' भेट्टाए
अब संसार भेट्टाउनुछ, केहि आज, केहि भोली