जो मेरो होइन, आखीर उसकै मन्दिर बनाए
आफै लकिर बनाए, यहि तक्दिर बनाए
यात्राभर न बाटो भेटियो न बादल अडियो
आफै खस्ने भीर बनाए, यहि मन्जिल बनाए
जो मेरो होइन, आखीर उसकै मन्दिर बनाए
आफै लकिर बनाए, यहि तक्दिर बनाए
यात्राभर न बाटो भेटियो न बादल अडियो
आफै खस्ने भीर बनाए, यहि मन्जिल बनाए
समयको चुलेसीले ताछ्दा-ताछ्दै
अन्ततः मान्छे
अर्धकदको मूर्ती बन्ने रै'छ ।
पोखिएर जूनेलीको एक अम्खोरा
पलाउछन् सपनीका अन्गीन्ती पखेटाहरू
र बन्छन्-
उमँगका हात
रहरका खुट्टा
संगीत बुन्ने ओैला
सुन्दरता हेर्ने आँखा... ।
अनि त भेट्छन् मान्छेहरूले-
नयाँ-नयाँ रङहरू
उड्दै गरेका बादलहरू
अग्ला-अग्ला पहाडहरू
र
टाढा-टाढाका क्षितिजहरू ।
सम्बन्धको साङ्ग्लोमा परेपछि
मान्छे यो यात्रा रोक्न विवश हुन्छ
र जहाँ-जे गर्दैछ
त्यहि टक्क अडिन्छ-
गीत गाउदा-गाउदै स्वर हराउछ
चित्र बनाउदा-बनाउदै रङ हराउछ
हिड्दा-हिड्दै पाइला हराउछ
कविता कोर्दा-कोर्दै अक्षर हराउछ ।
र त मान्छेबाट
हराउन थाल्छन्-
उमँगका हात
रहरका खुट्टा
संगीत बुन्ने ओैला
सुन्दरता हेर्ने आँखा... ।
समयको चुलेसीले ताछ्दा-ताछ्दै
अन्ततः मान्छे
अर्धकदको मूर्ती बन्ने रै'छ ।
साट्नलाई निदरी, सिरानी भेटिन
परदेशको घाममा, छहारी भेटिन
अध्यारो रातमा, उजेली खोजेछु
घरभन्दा पर - पर पुगेछु
आफ्नै पानामा, कहानी भेटिन
परदेशको घाममा, छहारी भेटिन
न ओैलाले छुन्छ, सपनाको दैलो
न आसुमा बग्छ, मुटुको मैलो
मन-मुटु बगाउन, कर्णाली भेटिन
परदेशको घाममा, छहारी भेटिन
न हुन्थ्यौ तिमी प्रियसी
न हुन्थ्यो यो इन्द्रेनी
न चल्थ्यो मिठो जिन्दगी
न बग्थ्यो सास यस्तरी ।
तिमी छौ र त बाँच्दैछु
तिमी छौ र त हाँस्दैछु
तिमी नै यदि नभए
न हाँस्थे मेरा ओठहरू
न निभ्थे मेरा चोटहरू
न हुन्थ्यो यति उज्यालो
न जल्थ्यो मनमा दियालो ।
तिमी आयौ बनि बहार
तिमी आयौ, भेटे किनार
तिमी नै यदि भेट्थिन
न निदाउथे यि आँखाहरू
न गाउथे यि भाकाहरू
न बग्थ्यो खुशीको यो बतास
न लाग्थ्यो हरपल यति खास ।
तिमी छौ र म पनि छु
तिमी छौ, म फैलिन्छु
तिमी नै यदि हुन्थेनौ
न चल्थे यि ओैलाहरू
न बल्थे यि ताराहरू
न हुन्थ्यो यो रमझम पनि
न जाग्थे रहर मनभरी ।
आँखाभरी छछल्किएर
नाजवाफ यो मुटुमा गढेझै लाग्छ
हर प्रश्नले मजाक गरेझै लाग्छ
उजेलीको भरपाई कहिल्यै पाएन
अँधेरी पल-पल बढेझै लाग्छ
हाँसेर बिदाई दियौ यसरी
अचेल मुस्कुराउन छाडेझै लाग्छ
नबोलेरै वर्षदिन बिति गएछन्
बोल्नुपर्दा बाढी तरेझै लाग्छ
न निद आफ्नो, न होश भो आफ्नो
बेचैनीमा तारा झरेझै लाग्छ
यादको झरी रोकियो नसोधेरै
कसरी भिझु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब
नटुङ्गिने बाटोमा पाइला बढेछ
यादको जङ्गलमा वर्षौ वितेछ
एकदिन आँखा खुलेछ सबेरै
कसरी भुलु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब
सासभन्दा याद पो मिठो रै'छ
याद लामो, जिवन पो छोटो रै'छ
उडी गयो याद, सास लिएरै
कसरी बाँचु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब
मभित्र आक्रोशको राँको लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो
थाहा थिएन-
यो देशले चिहानको पनि व्यापार गर्दो रै’छ
जसले जलायो
त्यही निर्मम सलाईको पनि आँशु झर्दो रै’छ
म कमजोर थिएँ, जेलिएको थिएँ
मभित्र पीडाको धागो लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो
दियो निभ्दैमा, आस्था निभ्ने त होइन
शरीर ढल्दैमा, सपना ढल्ने त होइन
आफ्नै नङ्ग्राको कुटो बोकेको थिएँ
आफ्नै सपनाको बारी खनेको थिएँ
मभित्र उर्वर भविष्यको माटो लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो ।
(साभारः साहित्यपोस्ट, माघ १९, २०७९: Link: https://sahityapost.com/kabyapost/kabya-poetry/96157/)