सम्बन्ध
सधैँ एकनास हुँदैन
सधैँ एकरस हुँदैन।
बलियो कसमको डोरीमा बाँध्दै
सात जूनीको पिँजडामा सजाए पनि
गुम्सिन सक्छ
सम्बन्ध आँगोजस्तै त हो
जति हुल्न खोज्छौँ
त्यति डढाउँछ।
नदीको किनारामा लडिबुडी खेल्दै
धित मरुन्जेल अँगालोमा बेरे पनि
फुत्की जान सक्छ
सम्बन्ध बालुवाजस्तै त हो
जति च्याप्न खोज्छौँ
त्यति बिलाउँछ।
ओठको, नयनको बखान सुनाउँदै
सुन्दरताको महाकाव्य कोरे पनि
सिद्धि जानसक्छ
सम्बन्ध अक्षरजस्तै त हो
जति लेख्न खोज्छौँ
त्यति केरमेट हुन्छ।
झन्-झन् नकस
तारजस्तो जेलिएको सम्बन्ध
बरू खुला छोडिदेऊ।
आखिर!
खुला उड्ने चरी-जोडीहरू
मधुर गीत गुन्गुनाउँछन्।
(साभार: सेतोपाटी-माघ ८,२०७९: https://www.setopati.com/literature/292757)
यादले रूवाउछ तर म यादहरू रोक्न सक्दैन
छाताले झरी त छेक्ला तर बाढी छेक्न सक्दैन
उसले पैसा चोरेर केहि ओैषधि किनेको रै'छ
इमान बचाउन प्राण पनि त ऊ छोड्न सक्दैन
सेतो टावरलाई धरहरा मान्नु- उर्दी छ सरकारको
कमजोर जमिनले धेरैबेर यो पिलर बोक्न सक्दैन
एउटा नदीले माग्यो एक अम्खोरा प्यास मसँग
सबथोक बन्न सक्छ मान्छे, सन्तुष्ट बन्न सक्दैन
झाडुहरूले विद्रोह गरेपछि शहर गन्हाएको छ
नाक थुन्न तयार छ शहर, माग सुन्न सक्दैन
घरबाट निस्केपछि थाहा भो मन छुटेछ उतै
पाइलाहरू अघि बढिसके, म फर्कन सक्दैन
मेरो चिताको धुँवाले पनि केहि अक्षर कोर्नेछ
आँगोमा शरीर त जल्ला, गजल जल्न सक्दैन
Subscribe to:
Posts (Atom)