सम्बन्ध !

सम्बन्ध
सधैँ एकनास हुँदैन
सधैँ एकरस हुँदैन।

बलियो कसमको डोरीमा बाँध्दै
सात जूनीको पिँजडामा सजाए पनि
गुम्सिन सक्छ
सम्बन्ध आँगोजस्तै त हो
जति हुल्न खोज्छौँ
त्यति डढाउँछ।

नदीको किनारामा लडिबुडी खेल्दै
धित मरुन्जेल अँगालोमा बेरे पनि
फुत्की जान सक्छ
सम्बन्ध बालुवाजस्तै त हो
जति च्याप्न खोज्छौँ
त्यति बिलाउँछ।

ओठको, नयनको बखान सुनाउँदै
सुन्दरताको महाकाव्य कोरे पनि
सिद्धि जानसक्छ
सम्बन्ध अक्षरजस्तै त हो
जति लेख्न खोज्छौँ
त्यति केरमेट हुन्छ।

झन्-झन् नकस
तारजस्तो जेलिएको सम्बन्ध
बरू खुला छोडिदेऊ।

आखिर!
खुला उड्ने चरी-जोडीहरू
मधुर गीत गुन्गुनाउँछन्।

(साभार: सेतोपाटी-माघ ८,२०७९: https://www.setopati.com/literature/292757)

0 comments (Click here to Comment):

Post a Comment