घरेलु बौलाहा गोरुहरु
चुपचाप घाँम ताप्छन्
सिमापारी गएर
र
एउटा विदेशी दुम्सी ओर्लीन्छ वारी
भाँदगाउले श्रीपेच लगाएर ।
दुम्सीले कानमा लालीगुँरास सिउरिन्छ
सधै दौरा-सुरुवालमा सजिन्छ
र
साँझ पर्ने बित्तिकै
उसकै हातबाट
हाम्रो सर्वोच्चता छिनिन्छ ।
ऊ पटुकी लगाउछ
ऊ लोकभाका गुन्गुनाउछ
र
खोल्सो देख्ने बित्तिकै
ऊ हाम्रो माटो
दख्खिनतिर बगाँउछ ।
ऊ संवेदना किन्छ
ऊ आश्वासन दिन्छ
र
उसकै पसलबाट दिउसै
अन्धकार बेचिन्छ ।
ऊ प्रजातन्त्र सुनाउछ
ऊ मानवअधिकार पढाउछ
र
जाडोमा आँगो ताप्छु भन्दै
ऊ हाम्रै छाप्रोहरु जलाउछ ।
ऊ शान्ति चाहिन्छ भन्छ
ऊ आफै शान्तिको घाँटी निमोठ्छ
र
फहराएर उसको तिनरंगे झण्डा
ऊ बन्दुके शासनको अधिकारी बन्छ ।
बनाऔं अब कानुन हामी
विदेशी दुम्सी मार्न मिल्ने
बनाऔं अब संविधान हामी
स्वदेशी बौलाहा गोरु काट्न मिल्ने
बनाऔं हाम्रो छाप्रो फेरि
टालौ चुहिने छानाहरु
खोलौ अब दुम्सी अनि
बौलाहा गोरुका बुच्चरखानाहरु ।
(३०-०८-०६६)
यो समय
पछुतो मान्दै गुफामा
डाँको छोडेर रुदैछ भन्छौ तिमी
म यो समयले
अर्को योजना बुन्दै गरेको देख्छु ।
यो समय
आफ्नै पासोमा अल्झिएर
मृत्युवरण गर्दैछ भन्छौ तिमी
म यो समयले
ज्यानमाराहरुलाई पासो चढाउदै गरेको देख्छु ।
यो समय
अश्लील भेषमा डुबुल्की मार्दै
समुंद्रमुनी सुत्दैछ भन्छौ तिमी
म यो समयले
अर्को ज्वारभाटा बोलाउदै गरेको देख्छु ।
यो समय
सिहदरबारमा सेता कल्कीहरु चढाएर
फेरि राज्यारोहण गर्दैछ भन्छौ तिमी
म यो समयले
नाजायज कोठीहरुमा अन्तिम धावा बोल्दै गरेको देख्छु ।
यो समय
अर्थात
तिम्रो हिजोको अन्तिम समय
अनि मेरो भोलीको पहिलो समय ।
आँखामा दली हिलोको देउता नाँच्छन् मान्छे कठैबरी !
त्रिशुल रोपी चेतनामा बाँच्छन् मान्छे कठैबरी !
अध्यारा मगजहरु मिली उज्याला घाम मार्छन् यहाँ
आफ्नै मृत्यु देखी-देखी हाँस्छन् मान्छे कठैबरी !
सभ्यतामा पर्दा हाल्न टपरीमा धुवाँ बाल्छन्
तुवालोमा सपनाहरु भाच्छन् मान्छे कठैबरी !
एक आत्मालाई बचाउनलाई कति आँखा रुवाउछौ खै ?
स्वर्ग पाउन स्वर्गीम जीवन ताच्छन् मान्छे कठैबरी !
पुराण, कुरान, बाइबल अनि त्रिपिटकमा आगो लगाऊ
युगौ पुराना डङ्गुर किन साँच्छन् मान्छे कठैबरी !
सल्बलाउछन् छातीभित्र सपनाका रासहरु
उदाउछन् बिहानीमा उज्यालाका आशहरु
फाटेको यो फरियाले के बित्ला र सिंगो जिवन ?
मुटु काँप्छ जसै साँझ रित्ता हुन्छन् गाँसहरु
हसियाँको कोलाहलमा रगत छट्पटाउछ सधै
चिथोरिन्छन् जब आशु राता हुन्छन् घाँसहरु
बिछ्यौनामै जून पनि रोइरहे जस्तै लाग्छ
किन देख्छु सधै राती ताराका यी लाशहरु ?
आशु पुछि अब कोर्छु मेरै हसियाको कथा
अनि लेख्छु किन बन्छन् मालिक अनि दासहरु ?
कालो बादल चिरेर खुल्छ रातो घाम
बढ्छौं जित भेट्न, अब लुकिन्न
मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।
गोडाहरु थाक्थे पहिला
जीवनभरका बोझहरु थाम्दा
तर कठिन गोरेटोमा पनि
आज थाकेनन्
गल्थे शरीरका त्यान्द्राहरु
अरुको लागी पसिना झार्दा
तर आज भीरपाखाँमा
लड्दालड्दै पनि गलेलन्
कुन्नी के रहस्य छ
यो शान्तिभित्रको कोलाहलको
अनौठो यात्रामा
कोही थाक्दैनन्
कहिल्यै थाक्दैनन् ।
पहिले-पहिले बगाएर
पुराना मालिकका लासहरु
मलामीहरु फर्किन्थे साँझपख
र कलेसीमा नुहाएर
सुस्ताउथे ओछ्यानमा दशकौसम्म
आज पनि फर्किए उनीहरु मलामीबाट
शाहि मलामीबाट
तर आश्चर्य !
नुहाएनन् आज
सुस्ताएनन् आज
बरु टिकट किन्दैछन् रे
राजधानी जाने बसको
मलामी बन्नु छ रे अब
सिँहदरबारको
मलामीहरु उकालो चढ्छन्
ओरालो झर्छन्
तर कहिल्यै थाक्दैनन् ।
(०७-०३-०६६)
रात कुरुप समय हो
यो चुपचाप देखिन्छ
तर रातमा सबैभन्दा बढी कोलाहल हुन्छ ।
सिमानाका बलात्कारका चित्कारहरु
जोडले सुनिन्छ रातमा
पुराना लासहरुको हुकुमे शासनको दुर्गन्ध
जोडले हुइँकिन्छ रातमा
रातमा रोबोटहरुको रिचार्ज हुन्छ
र झन शक्तिशाली हुन्छन् रिमोटवालाहरु
रातमा दाल र चामलमा बारुद मिसाउँछन्
पुराना काला व्यापारीहरु
रातमा मुस्कुराउँदै डढेलो ताप्छन्
बिर्खे साहु र मुखियाहरु
रातमा महाकाली र सुस्ता बेच्छन्
इतिहासका नपुंसकहरु
रात कालो हुन्छ
र काला दागहरु पनि अन्धकारमा हराउँछन् कतै
रात बाक्लो हुन्छ
र बाक्लो छायाँ पनि घुलमिल गर्छ फेरि त्यही रातसँग
रात बडो निर्मम हुन्छ
र चलाउँछ अन्धकारमा चक्कुहरु
रात कुटिल हुन्छ
र सुताउछ पुरानै चेतनामा संसार
तर
चट्याङका प्रहारहरुसँग डराउँछ रात
फगत एक जुनकिरीले हराउँछ रातलाई
बिहानीको उदयमा मर्छ रात
समयको सुइसँग मात खान्छ रातले
त्यसैले रातलाई पनि साथमा ल्याउँ
आखिर
रातमा उज्याला मान्छेहरु टाठ्ठै चिनिन्छन् ।