बिजुली चम्कन्छ, हराउछ
मान्छे बिनासित्ती डराउछ
याे मनकाे कुनै भर हुदैन
के के साेच्छ, के के गराउछ
म चाहन्छु जुन नाता, त्यहि ताेडिदिन्छु, गजब गर्छु
याे मन थाम्न खाेज्छ, म हात छाेडिदिन्छु, गजब गर्छु
जिन्दगीकाे चङ्गा सबले खुला आकाशमा उडाए
म पागल चङ्गा, केवल झरीमा उडिदिन्छु, गजब गर्छु
भनेथे नि केहि घडि थप बरालिन्छु
अब त बेला भो, आफै समालिन्छु
कहाँ हुन्छ दैत्य, कहाँ दैव बरै ?
आफै मैलिन्छु, आफै पखालिन्छु
तिमी बुझ्दिनाै, म बताउन सक्दिन
तिमीलाइ म आराेप लगाउन सक्दिन
घर भत्कीएकाे जब थाहा भयाे
निराेजस्तै बाँसुरी बजाउन सक्दिन
याे सपनीकाे सुरूङमा खै कल्ले अँधेरी मिसाएकाे छ
मेराे जून अचानक मेराे आकाशबाट विलाएकाे छ
याे रातजस्ताे बस्तीमा एक्लै रूमल्लीएकाे धेरै भयाे
आसुकाे ओस छ, जल्ले जिन्दगी याद दिलाएकाे छ
त्याे रात खै किन आसुमा रूझेकाे थियाे
चादनीले पनि उजेलीन बिर्सेकाे थियाे
एउटा गरिब हरेश खाई झुण्डीएको रै'छ
त्यहि पीपललाइ उसले देउता पुजेकाे थियाे
जल्दैछ मन्, मनलाइ चुल्हाे बनाएर ताप्दैछु
यादहरू छन् बाकि, छाती जलाएर ताप्दैछु
डढ्दैछ गगन, जहा छन् केही काला ग्रहण
यी पल, खरानीकाे महल, ढलाएर ताप्दैछु
अझै पनि केहि गुरूत्व बाकि छ
याे धमनीमा अझै कवित्व बाकि छ
टुकी पाे निभ्छ, चाँद कहा निभ्छ?
म भित्र अझै 'म-तत्व' बाकि छ
Subscribe to:
Posts (Atom)