दसै

बेकारमा फुरुङ्ग छन् नानीहरु  
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँग आउछन् केही नमीठा धुनहरु 
र दात नमिलेको अनुहारमा 
फेरि टुक्रुक्क बस्छ उदासी । 

दसैमा सरकार चङ्गा उडाउछ 
सिंहदरबारको छतमा उक्लेर 
र लट्टाइ बनाउछ 
गरीबको घाटी 
दसैमा बडाहरु सुटकेसमा जमरा रोप्छन् 
र दिनदिनै सिञ्चन्छन् सानाहरुको आसुले 
दसैमा मुछिन्छ अक्षता र दही 
अनी हासेकाहरुको निधार अझ चम्काइन्छ 
रोएकाहरुको मुख अझ टालिन्छ । 

बेकारमा फुरुङ्ग छन् नानीहरु 
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँगै आउछन् केही बुढा उखानहरु 
र बढ्छ दशाको क्षेत्रफल पनि । 

ठूला घरहरुका लागी 
दसैबारे फेरि लेखिन्छ गर्वित निबन्ध 
फेरि कोरिन्छ नया कविता 
फेरि छापिन्छ प्रमूख समाचार 
कवि हुन् या पत्रकार 
या बडे चिन्तकहरु 
गाउछन् दसैको गीत 
भट्याउछन् दसैको जिङ्गल । 

उता कुनातिर, झुपडितिर 
दसै आउछ (?) र नमीठो मजाक गर्छ 
साथमा केही उपहार पनि बाड्छ 
– नया कलम, मसी रित्तिएको 
– नया कापी, पाना सिद्धिएको 
– नया औषधी, मिति गुज्रिएको । 

बेकारमा फुरुङ्ग छन् नानीहरु 
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँग आउछन् केही गोप्य भाकलहरु 
र चढाइन्छ बली कलीला सपनाहरुको । 

तर पनि दसै आफैमा महान नै छ 
दसै नै उत्कृष्ट मानक हो यो देशको 
किनकी दसैमा ठ्याक्कै छुटिन्छन् 
ठूलाहरु र सानाहरु 
बली चढाउनेहरु र बली चढ्नेहरु । 
(असोज ८, २०७१)

नीलो बलपेन


तिमीले दिएको यो नीलो बलपेन
जो सधै मेरो देब्रे छातीमा टाँसिइरहेछ
मेरो लागी यो तिमी नै हौ
त्यसैले त मुटुको यति नजिक राखेको छु ।

कसैले माग्दा
मैले चुपचाप नकारे
मानौ मबाट तिमी मागिएकी हौ ।

कुनै परीक्षाको कागजमा समेत लेखेन मैले
यो मूल्यवान मसीले
मानौ कसैले जाँच्न लग्नेछ मेरो माया
जुन कुनै प्रेमको किताबमा भेटिने छैन ।

धड्कन पिन बिस्तारै धड्कीन्छ मेरो
मानौ तिमी निदाएकी छ्यौ
यो बलपेन बनेर छातीमा
र ब्युझन सक्छ्यौ यो धड्कनको कोलाहलले  ।

तिमीले दिएको यो नीलो बलपेनले
कोरे त केवल
मखमली सपनाको एउटा 'रफ स्केच'
मुलायम मायाको केही शब्दचित्र
र तिमीलाइ पुर्याउन नसकेको
एकथान प्रेमपत्र ।

आज तिम्रो विवाहको कार्डमाथी
कोर्दाकोर्दै यो कविता
टुटेको छ बलपेन
बाङ्गीएको छ यसको रिफिल
र चुहिएको छ केही थोपा नीलो मसी
मेरो आसु जस्तै गरी ।

टुटेपनि
म टाँसि नै रहनेछु
तिमीले दिएको यो नीलो बलपेन
यो सेतो सर्टको देब्रे गोजीमा
तिमी जता गएपनि
सधैभरी रहनेछ्यौ मसँगै
छातीमा नीलो दाग बनेर ।

साभार: नागरिक, शुक्रबार (२०७०, चैत्र)

म किन यतिबिघ्न डराएको हँ ?
कुनै युद्धमा त जादै छैन
जाबो परीक्षा न हो ।

मानौ मेरो निधारमा टाँसेर
लामो आयुका अक्षताहरु
मेरी आमाले पठाएकी छिन्
कुनै जोखिम सुनखानीमा
र सोच्दै छिन्
'छोरा फर्कला
र यो घरको धुरी जोगाउला ।'

मानौ मेरो पिठ थप्थपाएर
मेरो बुवाले जुँगा मुसारेका छन्
र छिमेकी काकालाई सुनाउदै छन्
'मेरो छोरो पो छोरो
तेरो के छोरो ?'

कुनै युद्धभित्रको सुक्ष्म युद्ध
चलिरहेछ मेरो मस्तिष्कमा यतिखेर
र मेरा पाइला डराउदै नापिरहेछन्
एउटा अँध्यारो सुरुङको लम्बाइ ।

साँझ फर्कदा
मैले मेरी आमाको गरिबी हटाउनुछ
मेरो बुवाको इज्जत बढाउनुछ
बस्
यति न हो
यो परीक्षाको जीवन-चक्र ।(२०७०, पुस २५ मा नागरिक 'शुक्रबार' मा प्रकाशित)

सुन साथी

पाेखीउला आँखाबाट हराउला शीतमाथी
या चुमेर ज्याेती जूनकाे, पुगुला आकाशमाथी
लडेर रूदा पनि
उडेर जून छुदा पनि
तिमी छाै र जिन्दगी छ जाति
सुन साथी, सुन साथी
सुन साथी, सुन साथी

हामी कुनै नदी थियाै
गुन्गुनाउथ्याै, बगीदिन्थ्याै
हामी कुनै यात्री थियाै
मुस्कुराउथ्याै, बढिदिन्थ्याै
आज फेरि त्यहि मुस्कान
सम्झेर नै मुस्कुराउछु
सम्झनाले आँखा छाेप्छ
आँखाभित्रै डुबिजान्छु
मुस्कुराउछ ओठ तर
गर्हाै हुन्छ मेराे छाती
सुन साथी, सुन साथी
सुन साथी, सुन साथी

केही बदमासी, केही स्याबासी
केही हाेश थियाे, केही बेहाेशी
हाम्राे छुट्टै उडान थियाे
सपनीकाे पखेटी थ्याे
कहा काेही एक्लै हुन्थ्याे?
मिलेरै दुख लखेटिन्थ्याे
अध्याराेमा मन हराइदिदा
साथी जूनकिरी बनिदिन्थ्याे
बलिदिन्थ्याे सधैभरी
सधैभरी जलिदिन्थ्याे
त्याे उज्यालाेकाे सम्झनाले
उज्यालिन्छ मेराे राती
सुन साथी, सुन साथी
सुन साथी, सुन साथी

तिमिसँग

तिमिसँग याे अाँखा अनी याे मन बाेलिदिन्छ
लाटाे छ सायद अाेठ, अर्कै कुरा गरिदिन्छ

कुरिदिन्छु निरन्तर याे साँझलाइ तिमिसम्म
डाहा गर्छ माैसम र त झरि परिदिन्छ

फूलकाे छ दुनिया, हाे रङ्गीन छ दुनिया
हर रङले तिमिमा नयाँ रङ भरिदिन्छ

एक पलमै कसरी पिउन सक्थे र याे सागर
याद बनी हरदिन अाँखाबाट झरिदिन्छ

बङ्गालको सडकबाट

अर्कै सहरको यो अर्कै सडक
यहाँ हिड्ने हरेक आँखा
चमेरो गुफाझै अध्यारो, डरलाग्दो लाग्छ मलाइ
विशेषतः आफ्नै ।

बिहानदेखि साँझसम्म
टिभिस्क्रिनमा झुण्डिएकी छे
एउटी मृत–नग्न केटी
आङ नै सिरिङ्ग हुनेगरी
रिपोर्टर पटक–पटक
उसको अङ्ग–अङ्गमा चिमोट्छ
मृत्यु अघिको बलात्कार भन्दा पनि डरलाग्दो छ
उसको यो मृत्यु पछिको टिभि–बलात्कार ।

बाटोमा कसैसँग ठोक्कीन पुग्छु
ऊ मदेखी डराउछे
म ऊ–देखी
सायद फेरि अर्को ढुङ्गेयुग
उम्रिएको छ
यो बङ्गालको सडकमा
यहाँ या त मान्छे मान्छेदखी डराउछन्
या त मान्छे मान्छेमाथी झम्टन्छन् ।

‘मिष्टि... बोङ्गाली... भालोबासी...’
आफ्नै सहकर्मीको कुरा बुझ्दिन म
कम्प्युटरमा आँखा लगाउदै
के के बोलिरहन्छे यो बोङ्गाली बेगम
म उसलाइ भन्छु
'यो बङ्गालको सडकमा
म विदेशी होइन
तिमी पो हौ'
ऊ मेरा यी कुरामा अचम्मसित हाँस्छे
यो शहरमा मैले कोही केटी
यति निर्धक्क भएर हाँसेको
पहिलो चोटी यहि कोठामा देखे
मलाइ प्रेम भएको छ
उसको यो निर्धक्क हाँसोसँग।

साँझ टिभिस्क्रिनमा ऊ पनि झुण्डिएकी हुन सक्छे
रिपोर्टर उसको क्षतविक्षत शरीरभरी
जथाभावी हात लगाइरहेको हुन सक्छ
औलाले उसको घाउहरुमा घोचिरहेको हुन सक्छ
म बिना नशा, नशामा सोच्दैछु
यो कस्तो सहर हो ?
बिहासम्म हाँस्दै गरेकी केटी
रातसम्म बलात्कृत भइसक्छे
मृत भइसक्छे
किन यो सुन्दर बङ्गालको सडक
रातमा केवल वेश्यालयझै बन्छ
र दिनमा वधशालाझै ?

श्मसान भन्दा पनि डरलाग्दो बन्दैछ
यो मेरो मित्रदेश
यो मेरो मित्रसहर
यो मेरो मित्रसडक ।

साच्चै यो बङ्गालको सडकजस्तै त छ
मेरो देशको सडक पनि
साच्चै मेरो देशको सडक पनि त
यो बङ्गालको सडक जस्तै छ ।
(14-09-2069, Kolkata)

आकाश थाकेर...

“Place your hand over your heart, can you feel it? That is called purpose. You’re alive for a reason so don’t ever give up.” – Unknown

आकाश थाकेर अचानक परेली बर्षिए जस्तो
के भयो छातिभित्र, रातभर बादल गर्जिए जस्तो

आफ्नै गोरेटोले जिस्काउदा डर लाग्छ
आफ्नै सपनासँग आफै तर्सिए जस्तो

यो पत्थरलाई भगवान मानेर अनन्त ढोगिरहे
आफै पत्थर बनेर एकनासले पर्खिए जस्तो

यहाँ हाँगा हाँगामा झुण्डिन्छन् मान्छे
सस्तो आवेगमा महँगो जिन्दगी खर्चिए जस्तो

#SayNoToSuicide

यो रात आज

यो रात आज रातो छ किन, जूनमा छिटा लागेछ कि
रातो बनेर बगीरहेछ आँखाबाट आसुहरू

कहिले हुला मुक्त म, यो अनन्त अपार पीरबाट
खसिदिउ जस्ताे लाग्छ जिन्दगीजस्ताे याे भीरबाट
अध्यारो यो मनले कतै मेरो साास मागेछ कि
सुस्त सुस्त रूक्दैछ अब घाँटिबाट प्राण मेरो

हिड्दैछु एक्लै एक्लै, बोलाइदिने कोहि छैन
अञ्जान याे सुरूङभित्र डोहोर्याइदिने कोहि छैन
मलाइ यहि टक्क छोडि, बिहानी अन्तै जागेछ कि
म एक्लै चिच्याइरहेछु, कहा विलाउछ यी आवाजहरू