जानेहरू उहिल्यै गइसके यो संसारबाट
आफ्नो हिस्साको जिम्मेवारी सक्काएर
हामी बचेकाहरू
जानेहरूको मृत आँखामा पनि
नजर जुधाउन नसक्ने भएछौं,
जानेहरूलाई याद गर्न पनि नसक्ने भएछौं ।
जानेहरूले रोपेको उज्यालोको बीउमा
कर्मको पानीको सट्टा
विग्रहको एसिड खसाल्दैछौं कि !
जानेहरूले कोरेको प्रगतीको राजमार्गमा
सुतेर बस्दैछौं कि !
लडेर बस्दैछौं कि !
जानेहरूले हाम्रो सपनाका खातिर
आफ्नो आँखा गुमाएथे
कति सजिलै बिर्सिसकेछौं ।
जानेहरूले हाम्रो जीवनका खातिर
आफ्नो शीर चढाएथे
कति सजिलै बिर्सिसकेछौं।
त्यो सपनाको बारीमा गोडमेल गरे पो
जानेहरूलाई याद गर्न सकिन्थ्यो,
उन्नतीको जगमा इट्टा थपे पो
जानेहरूलाई याद गर्न सकिन्थ्यो,
उज्यालोको बीउमा पानी सिञ्चिए पो
जानेहरूलाई याद गर्न सकिन्थ्यो ।
यो मध्य माघमा
सालिकभरी ओढाइएको फूलै फूलले
छोपिएको छ सहिदको आसु
तर छोपिएको छैन हाम्रो लाज ।
जानेहरू उहिल्यै गइसके यो संसारबाट
आफ्नो हिस्साको जिम्मेवारी सक्काएर
हामी बचेकाहरू
जानेहरूको मृत आँखामा पनि
नजर जुधाउन नसक्ने भएछौं,
जानेहरूलाई याद गर्न पनि नसक्ने भएछौं ।