Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

मुक्तक-४०

जो मेरो होइन, आखीर उसकै मन्दिर बनाए

आफै लकिर बनाए, यहि तक्दिर बनाए


यात्राभर न बाटो भेटियो न बादल अडियो

आफै खस्ने भीर बनाए, यहि मन्जिल बनाए  

मुक्तक-३९

ओठलाई झरीमा रूझाएपछि
एकफेर खुलेर मुस्कुराएपछि
बल्ल उज्यालो भो जिन्दगी 
मनभित्र पनि घाम उदाएपछि

मुक्तक-३८

'कसैले के भन्ला' भनी किन काँपेर बाँच्नु
अरू हिड्ने बाटो-गल्ली, किन नापेर बाँच्नु 
धन्न जल्नेहरू छन् वरिपरी, खुशी मनाओैँ
कठ्याङ्ग्रिदो जाडाेमा नत्र के तापेर बाँच्नु  

मुक्तक-३७

बगैचाँमा मन डुलाए, फूलमाथी पाप गरे
धुलाेसँगै म विलाए, धूलोमाथी पाप गरे
कहाँ भेट्नु कसरी खै तिम्राेजति उचाइ मैले
जूनसँग नयन जुधाए, जूनमाथी पाप गरे

मुक्तक-३६

रात सुन्दर हुन त्यहा तारा जलेकाे हुन्छ
फूल मुस्कुराउछ जब हुरी चलेकाे हुन्छ
ढुँगादिलकाे भएपनि, मान्छे न हु म पनि
सुन्दर ताजमहल पनि पत्थरले बनेकाे हुन्छ

मुक्तक-३५

परेली बन्द हुनेछ, मन उडेर अत्तर बन्नेछ
तिम्राे नाम मुटुमा खाेपेर याे शरीर पत्थर बन्नेछ
रहिरहनेछ फूलहरू, रङहरू, यादहरू, पलहरू
म जलेपछि मात्र, मेरो जलन मत्थर बन्नेछ

मुक्तक-३४

मनकाे धुवा चीम्नी हुदै फुत्किन चाहन्छ
निष्फिक्री त्याे बादलसँग जिस्किन चाहन्छ
गुम्सीएर भित्र भित्रै कहाँ लुक्छ याे मन ?
सुरूङकाे याे यात्रा सकी निस्किन चाहन्छ

मुक्तक-३३

बादलुकाे पखेटीमा फूलकाे चित्र लेखेछु
पढ्नु, केही कुरा त्याे मनभित्र लेखेछु
सम्हाल्नु, म मुस्कानकाे एक थुङ्गा पठाउला
जहाँ-जहाँ जान्छु, एक नाम सर्वत्र लेखेछु

मुक्तक-३२

हिड्दाहिड्दै भेटियाे एउटा पत्थरकाे मन
पत्थरकै सिमाना किन कट्न सक्दैन जीवन ?
याे रातमा हराउछु र अन्तै बिहानी हुन्छु
म आँगाे लिन्छु तिमिबाट, म खरानी बन्छु

मुक्तक-३१

त्यसाे भन्दैमा तिमी न दाेधारमा आउ
बरू आउ, आउ मेराे उद्धारमा आउ
अरूबेला कहाँ यसरी दुख दिन्छु र
म घाटमा छु, आज त केही हतारमा आउ

मुक्तक-३०

म जलेकाे पल याे रात पनि जल्नेछ
चुपचाप अध्याराेमै चाँद पनि जल्नेछ
तिमी जलाउनुलाइ प्रेम भन्ठान्छाै
जति जल्छु म, याद पनि जल्नेछ

मुक्तक-२९

म पाेलीएर न आखीर सुन बनेकाे हुँ
रेटिएर न सारङ्गीकाे धुन बनेकाे हुँ
जलन अनि तड्पाइले मान्छे बन्दैछु
अध्याराेमा जल्दा जल्दै जून बनेकाे हुँ

मुक्तक-२८

म पाैडदा पाैडदै आफै नदी भएछु
महसुस गर्दैछु अलि अति भएछु
खुला आँखामै सजाए सपनाहरू
महत्वाकांक्षी अलि बढी भएछु

मुक्तक-२७

एक झाेक्का हावा आयाे, मन बगाएर गयाे
निभिसकेकाे खरानीमा आगाे लगाएर गयाे
खुब साेच्थे, छ मेराे चट्टानजस्ताे मन
यही मनमा काेमल रहर जगाएर गयाे

मुक्तक-२६

सामान्य हाे, जिन्दगी जन्मन्छ, अनि रितिन्छ
दुख नमनाउ न यार, याे एक दिन सिद्धिन्छ
मुस्कान भन्दा ठूलो हतियार देखिएको छैन
मुस्कुराएर त हेर, हरेक दुख जितिन्छ

मुक्तक-२५

ती चञ्चल यादहरू झन गजवकाे लाग्दैछ
हातबाट छुट्टिएपछि अजिवकाे लाग्दैछ
निकै गाढा बनिदिन्छन् केही विशेष साइनाेहरू
आज टाढिएपछि अझ नजिककाे लाग्दैछ

मुक्तक-२४

म जुन धुन बजाउछु, अरूले बजाउन सक्दैन
मेराे दर्दकाे घेराभित्र काेही आउन सक्दैन
म त अध्याराेमै रमाउछु मेराे जुनकिरीसँग
झुटाे जूनतारा म सजाउन सक्दैन

मुक्तक-२३

पर्खाइकाे मैनबत्ती लगातार बल्छ
अनि एकदिन याे ढल्छ र सबथाेक जल्छ
अहिलेसम्म गार्हाे भा'छ तिमीबिना चल्न
भाेलिसम्म नि नचल्ला, पर्सीबाट चल्छ

मुक्तक-२२

बिजुली चम्कन्छ, हराउछ
मान्छे बिनासित्ती डराउछ
याे मनकाे कुनै भर हुदैन
के के साेच्छ, के के गराउछ

मुक्तक-२१


म चाहन्छु जुन नाता, त्यहि ताेडिदिन्छु, गजब गर्छु
याे मन थाम्न खाेज्छ, म हात छाेडिदिन्छु, गजब गर्छु
जिन्दगीकाे चङ्गा सबले खुला आकाशमा उडाए
म पागल चङ्गा, केवल झरीमा उडिदिन्छु, गजब गर्छु





कविता (135) गीत (52) मुक्तक (40) गजल (28) आलेख (7) videos (4) कथा (3)