झोला

राम्रोसँग खोज्ने हो भने 
जे पनि भेटीन्छ 
मेरा बा'को झोलामा ।

त्यहाँ भेटीन सक्छ-
उनले मानेका देउताका फोटोहरु,
या दाह्रीवाल पुराना नेताका फोटोहरु ।

त्यहाँ भेटीन सक्छ- 
उनको जवानीका रहरलाग्दा दिनहरू
जून दिनहरु,  तिनै दाह्रीवालका भक्तिमा बिते ।

या भेटीन सक्छ- 
झोलाको आदर्श बचाउन गरेका झगडाका अवशेषहरु  ।

झोला भिरेरै हिडे मेरा बा जिवनभर,
निस्वार्थै हिडे,
कहिले अध्यारो सुरूङहरूमा
कहिले चुडिएका तुईनहरूमा
कहिले आफ्नै भत्कीएको घरको आँगनमा
कहिले दुत्कारिएका चुनावी सभाहरूमा ।

उनले झोला भिरिरहे
या भनौ 
झोलाले उनलाई भिरिरह्यो, बेरिरह्यो ।

मेरा बा'ले शेषपछिका लागि
मेरा खातिर साचेका छन् 
त्यहि फाँटेको झोला ।

यो देखेर-
झोलाको कारखानामा बस्नेहरु
थप झोला उत्पादन गर्दै छन्,
थप झोले उत्पादन गदै छन् ।

0 comments (Click here to Comment):

Post a Comment