Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

भित्तेघडि

सन्तानझै समय हुर्किसक्यो
र निकै अगाडि बढिसक्यो
यो भित्तेघडि चाहि
जहाको तहि छ
वृद्वाश्रमको वृद्व जस्तो ।

ट्युबलाइट

अलि ढिलो गरी बल्छ
तर यसकै भर छ
यो ट्युबलाइट हो कि मेरो देश ।

खाट

सस्तो
महँगो
गरिबको
धनीको
हर एक खाटहरू
केवल चिताको पूर्वाभ्यास रहेछन् ।

सोफा

प्रायः
चिटिक्क
फेसनेबल
आकर्षक
एक्लो हुन्छन्
ब्युटिपार्लरमा थन्किएका सोफाहरू ।

खोपा

पत्थरले थिचेर
अरूसँग लुकाएर
चुपचाप राखेको छु
एउटा पुरानो प्रेमपत्र
यो छातीको अध्यारो खाेपामा ।

ढोका

खुल्छ
एकछिन बन्द हुन्छ
र फेरि खुल्छ...
म एकटकले यो ढोका हेर्दैछु
मानौ म तिम्रो आँखा हेर्दैछु ।

झुल

झुलभित्रको एक्लो लामखुट्टे
बडो भाग्यमानी मान्छ आफूलाई
उसलाइ थाहा छैन कि
झुल पनि महाजाल हो
जिन्दगी जस्तै ।

पंखा

मनपरी घुमिरहन्छ
र अर्कैले रोकिदिन्छ
पंखा, पंखा रहेन आज
मानौ मेरो मन भैसक्यो ।

दराज

जथाभावी कोचेर आफूभित्र
कपडा, किताब र यादहरू
कुनामा थन्किरहेछ पुरानो दराज
मेरो मस्तिष्कझै ।

रङ

यी गालाभरी पोतेर 
स्पर्शको रङ 
सिकाइगयौ 
मायाका केही रातो लवज
र चखाइगयौ 
लज्जाको केही नीलो मिठास ।

म पनि आउदैछु 
हातमा लिई 
एक मुठि अबिर
र अबिरभित्र लुकेका
रङहरू, तरङ्गहरू
मलाइ पर्खिनु
म डुलाउनेछु तिमीलाइ 
मनको हरियो बगैचामा
मलाइ पर्खिनु
म उडाइ लानेछु तिमीलाइ 
मेरो वैजनी सपनामा।

सडक

सडक न माटाेबाट बन्छ
न सिमेन्टिबाट
तारहरूबाट बन्छ याे
दुखका अनगिन्ती तारहरूबाट ।

साच्ची सडक बलियाे भएर मान्छे यसलाइ कुल्चिन्छन्
या मान्छेले कुल्चिदा कुल्चिदै याे बलियाे बनेकाे हाे  ?

युद्ध: एक सेल्फी

झोलुङ्गामा शान्तसँग निदाइरहेको छ
युद्धको एउटा कोमल फूल
आउ !
सबै मिली सलाम ठोकौँ ।

यो अनन्त भिरालो बाटोभरी
'रेड कार्पेट' बनेर बिछ्याइएका छन्
हाम्रा नानीहरूका हजारौ शरीर
यहाँ हिड्न ठिक्क परेको छ
'विश्व-बादशाह'को बफादार हात्ती
जुन कुदिरहेछ सिँगो ग्लोबभरी
र पोतिरहेछ राता डोबहरू ।

ठिक यतिबेलै 
युद्ध डिस्को गरिरहेछ
हाम्रो मोबाइलमा.
टेलिभीजनमा..
फेसबुकमा...
हामी सडकमा बिछ्याइन ठिक्क पारिदैछौ
र त्यो भन्दा अघि
आफै 'लाइक' हान्दैछौ
युद्धको अर्को बर्बर 'सेल्फी' लाई ।
(२०७६-०९-२३)

ईट्टामानव

SOURCE: http://www.blogbishad.blogspot.com
ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।

ऊ मोहम्मद मियाँका लागी
ईट्टाहरु ओसार्छ
मोहम्मद महोदय
राता रहस्यहरु
हरियो रङले ढाक्न खोज्छन्
ऊ विष्णुराम पण्डितका लागी पनि
ईट्टाहरु ओसार्छ
विष्णुराम महोदय
तुलसि मठमुनी
राता चिहानहरु लुकाउन खोज्छन् ।

मन्दिरमा बलि दिइएका
मस्जिदमा हलाल गरिएका
अनि सयौ वर्षदेखि
चुपचाप रगत बगाईरहेका
लाखौ ईट्टामानवका
थोपा-थोपा रगतहरु मिलेर
बन्छन् राता ईट्टाहरु
तर ऊ ईट्टामानव
आफैले बोक्ने ईट्टाको
रातो रङसँग
बेखबर छ ।

नयाँ मन्दिर बनाउन
उसलाई डाकिन्छ
नयाँ मस्जिद बनाउन
उसलाई बोलाईन्छ
ऊ मन्दिरको एक छेउमा थुक्दै
अर्को छेउमा गारो उठाउछ
ऊ मस्जिदको जगमा कुल्चदै
छतमा सुन्दरता बिछ्याउछ
उसलाई मतलब छैन
मन्दिरमा कसको भगवान छ
मस्जिदमा कुन अल्लाहको बाँस छ
ऊ पसिना मुछेर रोटी टोक्छ
ऊ रगत निचोरेर ढिडो निल्छ
उसलाई अल्लाहले मस्जिदमा बाँस दिदैन
ऊ मर्दा भगवानले कात्रो ओढाउदैन
त्यसैले ऊ कुल्चन्छ
राता ईट्टाले बनेका मन्दिरहरु
त्यसैले ऊ हिर्काउछ
राता ईट्टाले बनेका मस्जिदहरुमा
तर आफैले बोक्ने ईट्टाको
रातो रङसँग
अझै बेखबर छ ऊ ।

ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।
(२४-०६-०६६)


(Click here for English translation version by Pratima Pathak)

दसै

बेकारमा फुरुङ्ग छन् नानीहरु  
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँग आउछन् केही नमीठा धुनहरु 
र दात नमिलेको अनुहारमा 
फेरि टुक्रुक्क बस्छ उदासी । 

दसैमा सरकार चङ्गा उडाउछ 
सिंहदरबारको छतमा उक्लेर 
र लट्टाइ बनाउछ 
गरीबको घाटी 
दसैमा बडाहरु सुटकेसमा जमरा रोप्छन् 
र दिनदिनै सिञ्चन्छन् सानाहरुको आसुले 
दसैमा मुछिन्छ अक्षता र दही 
अनी हासेकाहरुको निधार अझ चम्काइन्छ 
रोएकाहरुको मुख अझ टालिन्छ । 

बेकारमा फुरुङ्ग छन् नानीहरु 
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँगै आउछन् केही बुढा उखानहरु 
र बढ्छ दशाको क्षेत्रफल पनि । 

ठूला घरहरुका लागी 
दसैबारे फेरि लेखिन्छ गर्वित निबन्ध 
फेरि कोरिन्छ नया कविता 
फेरि छापिन्छ प्रमूख समाचार 
कवि हुन् या पत्रकार 
या बडे चिन्तकहरु 
गाउछन् दसैको गीत 
भट्याउछन् दसैको जिङ्गल । 

उता कुनातिर, झुपडितिर 
दसै आउछ (?) र नमीठो मजाक गर्छ 
साथमा केही उपहार पनि बाड्छ 
– नया कलम, मसी रित्तिएको 
– नया कापी, पाना सिद्धिएको 
– नया औषधी, मिति गुज्रिएको । 

बेकारमा फुरुङ्ग छन् नानीहरु 
उनीहरुलाइ के थाहा ? 
दसै कहिल्यै एक्लै आउदैन 
दसैसँग आउछन् केही गोप्य भाकलहरु 
र चढाइन्छ बली कलीला सपनाहरुको । 

तर पनि दसै आफैमा महान नै छ 
दसै नै उत्कृष्ट मानक हो यो देशको 
किनकी दसैमा ठ्याक्कै छुटिन्छन् 
ठूलाहरु र सानाहरु 
बली चढाउनेहरु र बली चढ्नेहरु । 
(असोज ८, २०७१)

नीलो बलपेन


तिमीले दिएको यो नीलो बलपेन
जो सधै मेरो देब्रे छातीमा टाँसिइरहेछ
मेरो लागी यो तिमी नै हौ
त्यसैले त मुटुको यति नजिक राखेको छु ।

कसैले माग्दा
मैले चुपचाप नकारे
मानौ मबाट तिमी मागिएकी हौ ।

कुनै परीक्षाको कागजमा समेत लेखेन मैले
यो मूल्यवान मसीले
मानौ कसैले जाँच्न लग्नेछ मेरो माया
जुन कुनै प्रेमको किताबमा भेटिने छैन ।

धड्कन पिन बिस्तारै धड्कीन्छ मेरो
मानौ तिमी निदाएकी छ्यौ
यो बलपेन बनेर छातीमा
र ब्युझन सक्छ्यौ यो धड्कनको कोलाहलले  ।

तिमीले दिएको यो नीलो बलपेनले
कोरे त केवल
मखमली सपनाको एउटा 'रफ स्केच'
मुलायम मायाको केही शब्दचित्र
र तिमीलाइ पुर्याउन नसकेको
एकथान प्रेमपत्र ।

आज तिम्रो विवाहको कार्डमाथी
कोर्दाकोर्दै यो कविता
टुटेको छ बलपेन
बाङ्गीएको छ यसको रिफिल
र चुहिएको छ केही थोपा नीलो मसी
मेरो आसु जस्तै गरी ।

टुटेपनि
म टाँसि नै रहनेछु
तिमीले दिएको यो नीलो बलपेन
यो सेतो सर्टको देब्रे गोजीमा
तिमी जता गएपनि
सधैभरी रहनेछ्यौ मसँगै
छातीमा नीलो दाग बनेर ।

साभार: नागरिक, शुक्रबार (२०७०, चैत्र)

म किन यतिबिघ्न डराएको हँ ?
कुनै युद्धमा त जादै छैन
जाबो परीक्षा न हो ।

मानौ मेरो निधारमा टाँसेर
लामो आयुका अक्षताहरु
मेरी आमाले पठाएकी छिन्
कुनै जोखिम सुनखानीमा
र सोच्दै छिन्
'छोरा फर्कला
र यो घरको धुरी जोगाउला ।'

मानौ मेरो पिठ थप्थपाएर
मेरो बुवाले जुँगा मुसारेका छन्
र छिमेकी काकालाई सुनाउदै छन्
'मेरो छोरो पो छोरो
तेरो के छोरो ?'

कुनै युद्धभित्रको सुक्ष्म युद्ध
चलिरहेछ मेरो मस्तिष्कमा यतिखेर
र मेरा पाइला डराउदै नापिरहेछन्
एउटा अँध्यारो सुरुङको लम्बाइ ।

साँझ फर्कदा
मैले मेरी आमाको गरिबी हटाउनुछ
मेरो बुवाको इज्जत बढाउनुछ
बस्
यति न हो
यो परीक्षाको जीवन-चक्र ।(२०७०, पुस २५ मा नागरिक 'शुक्रबार' मा प्रकाशित)

एकदिन घर बस्दा

वर्षाैपछि
वर्षाै वर्षाैपछि
एकदिन घर बस्दा
चाल पाइन्छ
जिन्दगीकाे असली चाल ।

गमलाभरी फूलिसके रहेछन् रङ्गीबिरङ्गी फूलहरू
बारीमा मगमगाउदाे रैछ ममीले लगाएकाे धनिया
भतिजी अाफुजत्तिकै अग्ली भैसकेकि रहेछ
अामाकाे अाधा कपाल फूलिसकेकाे रहेछ
लट्टाइकाे सेताे धागाेजस्तै गरी ।

न कुनै मुग्लानबाट अाजै फर्केकाे हु
न कुनै सपनाबाट अचानक ब्युझेकाे हु
दिनदिनै त अाउजाउ गरिरहन्छु
अाफ्नै घरमा, गेस्ट हाउस जस्ताे गरी ।

बल्ल बुझ्दैछु
किन अाउनुहुन्छ ममी मेराे रूमसम्म अाइरन गर्ने बहानामा
किन चियाइरहनुहुन्छ ड्याडी अाधा खुलेकाे ढाेकाबाट
बल्ल बुझ्दैछु
किन रिसाउछिन मेरी माया फाेन नउठाएकाे भन्दै
किन सुनाइरहन्छन् साथीहरू 'त ठूलाे भइस' भनेर ।

हिड्दा हिड्दै
दाैडदा दाैडदै
बिहानदेखि बेलुकासम्म
बिर्सिसकेकाे रहेछु
कसका लागी हिड्दै छु
कसका लागी दाैडदै छु ।

याे शहर
दाैडाइरहन्छ सपनाकाे म्याराथाेनमा
दिनदिनै मलाइ
अाफ्नै अात्माबाट टाढातिर ।

प्रिय चरी !

प्रिय चरी !
उडाइ लग मलाइ पनि तिमिसँगै
पर-पर, माथी-माथी
र खसालिदेउ
तिम्राे गहिराे जादुनगरी अाकाशभित्र कतै ।

यतिका बर्ष
हेर्दै एकटक याे नीलाे गहिराइमा
बर्बराए हाेला कत्ति कुरा
सुनाए हाेला के-के, के-के
अब अाफै सुन्न चाहन्छु
अाफैले बाेलेर बिर्सिसकेका चाहहरू
अाफैले देखेर नदेखेजस्ताे गरिरहेका सपनाहरू
यतै कतै गुञ्जीरहेकाे हाेला
मेरा सबै बाैलठ्ठी कुराहरू
म सब सुन्न चाहन्छु
एक एक गरेर ।

मलाइ प्यार छ तिम्राे याे अाकाशसँग
याे गहिराइसँग
याे उचाइसँग
मेराे सपनासँग  ।

प्रिय चरी !
उडाइ लग मलाइ पनि तिमिसँगै
पर-पर, माथी-माथी
र खसालिदेउ
तिम्राे गहिराे जादुनगरी अाकाशभित्र कतै ।

प्रेम

रिसाउदै पssssर पुगेर
टक्क अडिइन उनी
र फनक्क घुमेर
यसरी अाइन मेराे अँगालाेमा
कि झन अग्लीयाे मेराे मायाकाे अाइफिल ।

रिस, अावेग भन्दा
साच्ची धेरै शक्तिशाली छ प्रेम  ।

बालापनकाे लार्भा

बाबै !
याे बालापनकाे लार्भा छ नी
निकै सुन्दर हुन्छ पुतलीभन्दा पनि
तर याे छट्टु संसारलाइ
केवल मन पर्छ पुतलि
र त जबर्जस्ती बदलिदिन्छ
बालापनकाे निर्दाेष लार्भालाइ
एउटा फिका पुतलीमा
अाफैले छानेकाे फिका रङमा ।

यहा जाेडताेडले लागीरहेछ बजार पुतलीकाे
बडाे प्रतिस्पर्धा छ 'अब्बल अाउने हाे काे  ?'
दिनदहाडै उडाइदैछ पुतली
बिना प्राणका यी फिका पुतली
निर्जीव चङ्गाजस्तै गरी ।

हेर !
चारैतिर हेर !
लाै मजाले हेर !
काे-काे डाेरी तान्दैछन् ?
काे-काे लट्टाइ बेर्दैछन्  ?
काे-काे पुतली उडाउदैछन्  ?

जन्मनासाथ बेरिदाे रहेछ लार्भा
समाजले उनेकाे माकुरी जालमा ।

बिचरा बालापनकाे लार्भा !
सास लिन जान्दा-नजान्दै
बाेक्न थाल्दाे रहेछ
एउटा वयश्क बाेझ
बामे सर्न सिक्दा-नसिक्दै
घाेक्न थाल्दाे रहेछ
एउटा बासी पुतलीशास्त्र ।

देखाएर दुइचार पुतलीकाे उडान
झारिदाे रहेछ अरू सयाै पंखेटा
पिलाएर रङहरूकाे चर्काे मादकता
चाेरिदाे रहेछ चञ्चन बालापन
अनि झुक्याएर सपनाकाे बधशालामा
थिचिदाे रहेछ सयाै लार्भाकाे घाँटी ।

बाबै  !
यदि सबै निर्दाेष लार्भा जिउन पाउथे त
यदि सबै बालापन निस्फिक्रि फक्रिन पाउथे त
कति सुन्दर हुन्थ्याे हाेला है याे संसार
अाहा ! पुतली नै पुतलीकाे रङ्गीन संसार ।
(१२-०९-०७२)