नाजवाफ यो मुटुमा गढेझै लाग्छ
हर प्रश्नले मजाक गरेझै लाग्छ
उजेलीको भरपाई कहिल्यै पाएन
अँधेरी पल-पल बढेझै लाग्छ
हाँसेर बिदाई दियौ यसरी
अचेल मुस्कुराउन छाडेझै लाग्छ
नबोलेरै वर्षदिन बिति गएछन्
बोल्नुपर्दा बाढी तरेझै लाग्छ
न निद आफ्नो, न होश भो आफ्नो
बेचैनीमा तारा झरेझै लाग्छ
यादको झरी रोकियो नसोधेरै
कसरी भिझु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब
नटुङ्गिने बाटोमा पाइला बढेछ
यादको जङ्गलमा वर्षौ वितेछ
एकदिन आँखा खुलेछ सबेरै
कसरी भुलु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब
सासभन्दा याद पो मिठो रै'छ
याद लामो, जिवन पो छोटो रै'छ
उडी गयो याद, सास लिएरै
कसरी बाँचु अब
निदरीको गल्लीमा हराए धेरै
कसरी ब्युझु अब
मभित्र आक्रोशको राँको लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो
थाहा थिएन-
यो देशले चिहानको पनि व्यापार गर्दो रै’छ
जसले जलायो
त्यही निर्मम सलाईको पनि आँशु झर्दो रै’छ
म कमजोर थिएँ, जेलिएको थिएँ
मभित्र पीडाको धागो लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो
दियो निभ्दैमा, आस्था निभ्ने त होइन
शरीर ढल्दैमा, सपना ढल्ने त होइन
आफ्नै नङ्ग्राको कुटो बोकेको थिएँ
आफ्नै सपनाको बारी खनेको थिएँ
मभित्र उर्वर भविष्यको माटो लुकेको थियो
म कोइला थिएँ, चुपचाप थिएँ
हो, मभित्र आगो लुकेको थियो ।
(साभारः साहित्यपोस्ट, माघ १९, २०७९: Link: https://sahityapost.com/kabyapost/kabya-poetry/96157/)
सम्बन्ध
सधैँ एकनास हुँदैन
सधैँ एकरस हुँदैन।
बलियो कसमको डोरीमा बाँध्दै
सात जूनीको पिँजडामा सजाए पनि
गुम्सिन सक्छ
सम्बन्ध आँगोजस्तै त हो
जति हुल्न खोज्छौँ
त्यति डढाउँछ।
नदीको किनारामा लडिबुडी खेल्दै
धित मरुन्जेल अँगालोमा बेरे पनि
फुत्की जान सक्छ
सम्बन्ध बालुवाजस्तै त हो
जति च्याप्न खोज्छौँ
त्यति बिलाउँछ।
ओठको, नयनको बखान सुनाउँदै
सुन्दरताको महाकाव्य कोरे पनि
सिद्धि जानसक्छ
सम्बन्ध अक्षरजस्तै त हो
जति लेख्न खोज्छौँ
त्यति केरमेट हुन्छ।
झन्-झन् नकस
तारजस्तो जेलिएको सम्बन्ध
बरू खुला छोडिदेऊ।
आखिर!
खुला उड्ने चरी-जोडीहरू
मधुर गीत गुन्गुनाउँछन्।


