ह्याङ्गरमा झुण्डीएको छ
एउटा भिझेको रेनकोट
एउटा फाटेको पाइन्ट
अनि एउटा पुरा...नो सपना।
सपना झुण्डीदा
गर्धन झुण्डीएझै लाग्छ ।
कार्पेटको सफाइ अचम्मको हुन्छ
माथी - माथी कुचो लाउदा
तल झन् धुलो जम्छ
हो ठ्याक्कै
मुहारको मेक - अप जस्तै
आत्मामा धुलो जमिराख्छ ।
यो दिमागमा
कति लेखे - कति गीतहरू
कागजमा लेखिन
आज म सोच्छु
अब दिमागबाट पनि
सायद मेटिइसक्यो होला मेरा गीत
बा कतै छापियो कि हेलमेटमा !
सन्तानझै समय हुर्किसक्यो
र निकै अगाडि बढिसक्यो
यो भित्तेघडि चाहि
जहाको तहि छ
वृद्वाश्रमको वृद्व जस्तो ।
अलि ढिलो गरी बल्छ
तर यसकै भर छ
यो ट्युबलाइट हो कि मेरो देश ।
सस्तो
महँगो
गरिबको
धनीको
हर एक खाटहरू
केवल चिताको पूर्वाभ्यास रहेछन् ।
प्रायः
चिटिक्क
फेसनेबल
आकर्षक
र
एक्लो हुन्छन्
ब्युटिपार्लरमा थन्किएका सोफाहरू ।
पत्थरले थिचेर
अरूसँग लुकाएर
चुपचाप राखेको छु
एउटा पुरानो प्रेमपत्र
यो छातीको अध्यारो खाेपामा ।
Subscribe to:
Posts (Atom)