नियममै सधै बाँधिने भए
ग्राभिटिको नियम
मान्नु पर्थ्यो यो सिलिङले
र खस्नु पर्थ्यो
मेरो आङमाथी ।
धेरैथोक जोगाउन
केहि नियम
भत्काउनै पर्ने रै'छ ।
हातका रेखाले
यदि भाग्य लेखिन्थे भने
म तिम्रो पञ्जा चोरेर
लैजान्थे आफूसँग
र ती रेखाका डामहरू
सारिदिन्थे
मेरा हत्केलाभरी ।
यो ट्वाइलेटमा नभएको भए
सायद डाइनिङ टेबलमा हुन्थ्यो
या पूजाघरमा ।
कागजका पनि
कति जातहरू हुने
मान्छेमा झै ।
दाउरा जलाउदै गर्दा
तिम्रो सम्झना पनि जलाउछु
म सधै जलिबस्छु
म सधै आगो खेलाउछु
मलाइ चुल्हो भन्ठान्छन्
र रोटी सेकाएर जान्छन् मान्छे ।
चिसो मन
चिसो सम्बन्ध
र चिसो सोच
आधुनिक मान्छे
मानौ फ्रिज बनिसके ।
तासजस्तो नबन्नु भन्थे बा
भन्थे-
"जित्नेले पनि फालिदिन्छन्
हार्नेले पनि फालिदिन्छन् ।"
बरू छाता जस्तो बन्नु भन्थे
भन्थे-
"झरीमा पनि काम लाग्नु
घाममा पनि काम लाग्नु ।"
बेलनले घाटीमा थिचेर
अन्तिम थोपा पनि
निचोर्दैछु
यतिखेर-
म कारखानाको
मालिकझै लाग्दैछु
र यो टुथपेस्ट
श्रमीकझै ।
शरीरभित्र छन्
काला पुराना घाउहरू
तिमि पनि बुझि-नबुझि
ममाथी थुकिदिन्छौ
अरूलाइ सफा गर्दा गर्दै
म डस्टबीन, फोहोरी कहलिसके ।
Subscribe to:
Posts (Atom)