चन्द्रमाको आसु

चन्द्रमाको आसु बनी
उजेली थोरै खसिदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

मुहारभरी झरी पर्छ
आँखा टिलपिल भइदिदा
रसाउछ यो मनको भित्ता
एक्लै गीत गाइदिदा

जूनकिरी उड्दै-उड्दै
पर कतै विलाइदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

बाहिर फैलि दिन्छु बरै
बोल्ने कुरा अर्कै हुन्छ
भित्र थिग्रि दिन्छु कठै
मनले मनमै कुरा थुन्छ

मुकुण्डोको खेती गर्दै
मान्छे जूनी बाँचिदियो
रात रोयो, मन रोयो
ओठ भने हासिदियो

टोपी

निर्जिव हिमालले मात्र
बनेको छैन यो देश ।

खासमा बनेको छ
सजिव आत्माहरूले ।

जसरी
ढाका टोपी नै देश होइन
बरू तिम्रो शीर हो देश ।

परिचयपत्र

पासोजस्तो झुण्डिएर
दिनरात मेरो घाटिमा
यो परिचयपत्र
मसँगै माग्दैछ
मेरो परिचय ।

मान्छेको परिचय
नाम, दर्जाले मात्र
कहाँ जनाउछ र !

झुमर

झुमरका काचभरी छन्
मजदुरका चोटका राता धब्बाहरू
त्यसैले त यति मजा लिदैछ
यो सम्भ्रान्त रात ।

ऐना

घामसँग
समाजसँग
सिँगो संसारसँग
सहजै सक्छ मान्छे
आँखामा आँखा जुधाउन
मात्र
ऐनासँग सक्दैन ।

गलबन्दी

जति पटक धोएपनि
जादैन दाग
मेरो गलबन्दीबाट ।

सायद
उनीभन्दा पनि 
बढी टिकाउ रैछ
उनको ओठको लिपिस्टिक ।

चुरोट

नजिस्कनु भन्छन् मृत्युसँग 
म अबुझ
चुमिरहन्छु मृत्युलाइ ।

नपत्याए हेर
मेरो ओठको चुरोट ।

#Smoking_Kills

यि आँखाको निन्द्रा

यि आँखाको निन्द्रा ति आखाँबाट हुन्छ पुरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा

तिमी त्यहा छौ, मेरा पाइला जहा भएन
सँगै हुनुको परिभाषा के हो थाहा भएन
मलाइ त सँगै लाग्छन् रूखका पात र जरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा

चट्याङ आउदा म अहिले पनि डराउछु
तिमि सम्झि आफ्नै छायामा म हराउछु
यो झरीमा चुपचाप ओत लाग्छ मनको चरा
कोसौ टाढाबाट सुन्छु तिम्ले नभनेका कुरा