मेरा अधिकारहरु

Source: http://blogbishad.blogspot.com
बाँसी खटिराहरुको मृत्युभोजमा
स्वस्थ हसियाहरु जब पुनर्जन्मको तयारीमा हुन्छन्
त्यहिनीरै तिम्रो एक जत्था
हवल्दारको नेतृत्वमा आइपुग्छ
र पाउरोटीको सोफामा बस्दै
आमरण अनशनको घोषणा गर्दछ
भन्छन् यो सब चुपचाप हेर्नु नै
मेरो लोकतान्त्रिक अधिकार हो रे ।

धुपीको जरा चपाउदै
नरिसंगाहरु बरेली गल्लीमा दौडदै गर्दा
छोइने डरले
जब काला बादलहरु
बाहुनटोलमा मात्र बस्रन्छन्
म ढोल पिटेर तिर्खा मेटाउछु
हो यो सब गर्नु नै
मेरो मानवअधिकार हो रे ।

कुष्णभीरको पहिरोपारी
हजारौचोटी आत्महत्या गरेर
जब म थानकोट काट्छु
धरहरा र धण्टाघरको हेपाईले
म एक नजरमै खुत्रुक्कै हुन्छु
हो फगत यो एक नजर नै
मेरो नागरिक अधिकार हो रे ।

एक बाल्टिन तुफान ल्याउन
हजार अाजुली भर्ने
महान हात काटेपछि पनि
जब कालभैरव
कहिले भैरवनाथ बनेर
कहिले भैरव छाप अनेक नाथ बनेर
मेरो घाटी अझै अठ्याउछ
म एक लाशको प्रतिक्षामा
जीवन सिध्याउन बाध्य हुन्छु
भन्छन्
यो बाध्यता नै
मेरो जीवन-अधिकार हो रे ।

झोलाभरी खुनका वान्ताहरु ओसारेर
जब बाग्मती किनारका चन्दनका दाउराहरुमा
कखरा लेख्दै
मेरा सन्ततीहरुको अनिश्चित भवीष्य
बाग्मतीको ढलमा बगीरहेको देख्छु
म आशुले भिज्दै
आकाशतीर फर्केर जोडले चिच्याउछु
ुपशुपतीनाथले हामी सबैको कल्याण गरुनु
आखीर यो चिच्याहट नै यो मरुभुमीमा
मेरो अन्तिम अधिकार हो रे ।
१३-०७-०६५

0 comments (Click here to Comment):

Post a Comment